शुक्रबार, बैशाख १४, २०८१

काठमाडौंमा आवास बढ्दै खेतीयोग्य जमिन घट्दै

land
काठमाडौँ, मङ्सिर । सरकारले भूउपयोग नीतिलाई कार्यान्वयन गर्न नसक्दा काठमाडौं जिल्लामा आवास बढ्दै गईरहेका छ भने कृषि उत्पादनका लागि उर्वर, मलिलो र खेतीयोग्य जमिन प्रत्येक वर्ष घट्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार काठमाडौँमा २१ हजार २०० हेक्टर जमिनमा खेती हुन्छ । जसमध्ये १२ हजार ४६ हेक्टर खेत र नौ हजार १५४ हेक्टर पाखो बारी छ । खेतीयोग्य जमिन पुरैमा सिँचाइको व्यवस्था छ । छहजार ४०० हेक्टरमा वर्षभर र पाँच हजार ६४६ हेक्टर जमिनमा मौसमी सिँचाइको सुविधा पुगेको कार्यालयका कृषि अर्थ विज्ञ अर्जुन बरालले बताए ।
“जिल्लामा खेती भइरहेको क्षेत्र वर्षेनी तीनदेखि पाँच प्रतिशतसम्म घट्दै गइरहेको छ, भू–उपयोग नीति सहीरूपमा कार्यान्वयन नहुँदा खेतीका लागि उत्तम जमिन बस्तीमा परिणत भइरहेको छ” उनले बताए ।
बस्ती विकासका कारण काठमाडौँमा वर्षेनी खेतीयोग्य जमिन घट्दै गएको हो । जिल्लामा गहुँ, धान जस्ता अन्नबाली लगाउने क्रम घटेको छ । यस्ता जमिनमा प्लास्टिकको टनेलमा तरकारी खेती गर्नेको सङ्ख्या बढेको बरालले बताए । “खेतीयोग्य जमिनमा मात्र होइन भीर पाखोमा समेत तरकारी खेती गर्ने क्रम बढ्न थालेको छ” उनले भने–“रोजगारीका लागि विदेशबाट फर्किएकाले प्रविधिसमेत भित्र्याएर तरकारी उत्पादन गरेका छन् ।”
तरकारीसँगै गाईवस्तु पालेर जैविक मल र दुग्धजन्य पदार्थको उत्पादन गर्न थालेका छन् । यसरी खेती गर्नेले जैविक मल प्रयोग गरेर अग्र्यानिक तरकारीलाई महत्व दिन थालेको बरालले बताए ।
काठमाडौँका खेतीयोग्य जमिनमा खेती गरिरहेकालाई सहयोग गर्न छस्थानमा कृषि सेवा केन्द्र स्थापना गरिएको छ । दक्षिणकाली, कलङ्की, बालाजु, धापासी, जोरपाटी र इन्द्रायणीमा केन्द्रले सेवा पु¥याइरहेको कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत अरुणप्रकाश भट्टले बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०७२