शुक्रबार, बैशाख १४, २०८१

पशुले पनि पायो सुत्केरी खर्च पाल्पाका किसान दङ्

पाल्पा, साउन । सरकारी कर्मचारीहरुले सुत्केरी विदा र त्यसबाट पाउने खर्च लिएको सुनिरहेको भएपनि अरु क्षेत्रमा सुत्केरी खर्च दिएको सुन्न पाइएको थिएन । तर पाल्पा जिल्लाको रामपुरमा रहेको सीताकुण्ड दुध सहकारी संस्थाले पशुको सुत्केरी खर्च उपलब्ध गराएर नमूना कामको शुरुवात गरेको छ । यो नमूना कार्यसँगसँगै किसानहरुालाई उत्साहित समेत बनाएको छ । सो सहकारीले पशु बीमा गरेका किसानलाई पशु सुत्केरी खर्च रकम उपलब्ध गराएपछि सो क्षेत्रका किसानहरु दङ् परेका छन् ।सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुरले ६४ वटा पशुको सुत्केरी खर्च रकम किसानलाई वितरण गरेको हो ।
असारबाट यता सुत्केरी भएका भैँसी २६, गाई २५ र बङ्गुर १३ वटाको सुत्केरी खर्च र दुईवटा पशुको अनुत्पादक क्षतिपूर्ति बापतको बीमा गरेको रकमको २५ प्रतिशत रकम वितरण गरेको थियो । संस्थामा बीमा गरेका पशु सुत्केरी भएमा किसानलाई प्रोत्साहनस्वरुप रु ५०० सुत्केरी खर्च रकम वितरण गरेको छ ।
जिल्ला पशु सेवा कार्यालय पाल्पाका वरिष्ठ पशु विकास अधिकृत तुल्सीराम भण्डारीले पशु सुत्केरी खर्च रकम वितरण गर्दै नेपालमै नमुनाका रूपमा पशु सुत्केरी खर्च कार्यक्रम सहकारीले रामपुरमा पहिलोपटक ल्याएको र यस कार्यक्रमबाट पशुपालनको इतिहासमा नौलो आयाम थपेको समेत बताए ।
उनले पशुको नाममा संस्थाबाट प्र्रदान गरिएको सुत्केरी खर्च रकम अन्यत्र खर्च नगरी पशुमै खर्च गर्न किसानलाई आग्रह पनि गरे । गत माघबाट सुरु भएको पशु सुत्केरी खर्च कार्यक्रमले अहिलेसम्म संस्थामा बीमा गरेका पशुमध्ये ९६ पशुको सुत्केरी खर्च रकम किसानलाई उपलब्ध गराएको सहकारीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७२