आइतवार, जेष्ठ ६, २०८१

तरकारीखेती तथा पशुपालनका लागि सरकारले अनुदान दिने

रत्ननगर (चितवन), २५ साउन । इजरायलबाट कृषिकर्म गरेर फर्किएका चितवनका युवा कृषि उद्यमी बन्न सुरु गरेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा अहिले उनीहरुले आफूले सिकेको सीप प्रयोग गरेर व्यावसायिक कृषिकर्म गर्न थालेका छन् । उनीहरुलाई व्यावसायिक तरकारीखेती तथा पशुपालनका लागि यो वर्ष सरकारले जिल्ला कृषि विकास कार्यालयमार्फत अनुदानको समेत व्यवस्था गरेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरेका अनुसार यहाँका १६ जना युवा तरकारीखेती र पशुपालनमा सक्रिय भएर लागेका छन् । जिल्लाको बछौली, भण्डारा, वीरेन्द्रनगर, पदमपुर, पिप्ले, मेघौली र कठारका युवालाई व्यावसायिक कार्यक्रम सञ्चालनका लागि प्रतिव्यक्ति रु एक लाखका दरले रकम वितरण गरिएको छ ।

गएको वर्ष यहाँका २१ जना युवाले इजरायल गई सीप सिकेर आएका थिए । आफूले जानेको सीपअनुसार यहाँ खेती सुरु गरिएको वीरेन्द्रनगरका युवा किसान भेषबहादुर मगरले बताउनुभयो । गएको वर्ष १० महिनासम्म उहाँले इजरायलमा काँक्रो र करेलाखेती सिक्नुभएको थियो । अहिले कृषि कार्यालयले दिएको अनुदानबाट वीरेन्द्रनगरमा डेढ कट्ठामा करेलाखेती सुरु गरेको उहाँले बताउनुभयो । “काँक्रोखेतीका लागि तयारी भइरहेको छ” उहाँको भनाइ छ । मगरको छिमेकमा रहेका मालाश्री थापाले बाख्रापालन र आशा पुनले बङ्गुरपालन सुरु गर्नुभएको छ । उहाँहरुले पनि इजरायलमै सीप सिकेर उक्त पशुपालन थाल्नुभएको हो । इजरायल गएर तरकारीखेती सिकेर आउनुभएका रत्ननगर बछौलीका उमेश रिजाल इजरायलमा खेती गर्ने तरिका प्रविधि निकै फरक भएको बताउनुहुन्छ ।
एक्काइस जना युवाले सीप सिकेर फर्किए पनि अहिले १६ जना मात्रै व्यावसायिक खेतीमा लागेका छन् । यो वर्ष कृषि कार्यालयले युवा लक्षित व्यावसायिक तरकारीखेतीका लागि जिल्लामा ६० जना किसानलाई प्रतिव्यक्ति रु ६० हजारका दरले रु ३६ लाख अनुदानसमेत दिएको छ । अनुदानबाट राम्रो खेती भएको अनुगमनमा पाइएको कार्यालय प्रमुख घिमिरे बताउनुहुन्छ । गएको वर्षमा ८० हेक्टर क्षेत्रफलमा किसानले उक्त अनुदानबाट तरकारीखेती गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७०/७१ मा छ हजार २७५ हेक्टरमा तरकारीखेती भएको र ८६ हजार मेट्रिक टन तरकारी उत्पादन भएको थियो । अघिल्लो आव २०७१/७२ मा छ हजार २८७ हेक्टरमा तरकारीखेती भएको र ८६ हजार ३७५ मेट्रिक टन तरकारी उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्लामा उत्पादित तरकारीको मुख्य बजार काठमाडौँ हो । त्यसपछि रुपन्देही र पोखरामा बढी तरकारी जाने गरेको छ ।

प्रकाशित मिति: सोमवार, साउन २५, २०७२