सोमवार, बैशाख २४, २०८१

अदुवा प्रशोधन केन्द्र बन्दै सुर्खेत

surसुर्खेत, ६ वैशाख । मध्य पश्चिमाञ्चलको उपत्यका बजारमा रुपमा निकै चर्तित रहेको जिल्ला सुर्खेत यतिखेर कृषिका विभिन्न बस्तु तथा बालीका कारण चर्चा आउन थालेको छ । सुर्खेत जिल्लामा कृषिसँग सम्वन्धित विभिन्न आयोजनाहरु सञ्चालनमा आएपछि सो जिल्ला कृषिका लागि पनि एउटा गन्तव्य स्थान बन्न थालेको छ । कृषि विकास मन्त्रालय मातहतमा सञ्चालनमा आएको उच्चमूल्य कृषि बस्तु आयोजनाको सहयोगका कारण सुर्खेत जिल्लाको भेरीगङ्गा नगरपालिका–८ स्थित कालीदमार गाउँलाई अदुवा उत्पादन एवं प्रशोधन केन्द्रका रूपमा चिनिन थालेको छ ।

सो आयोजनामा कृषि उद्यम केन्द्र समेत संलग्न रहेकाले अदुवा प्रशोधनलाई भने ‘एक गाउँ एक उत्पदान’ को परिकल्पनाअनुरूप ढाल्न खोजिएको बताइएको छ । सो कालीदमार गाउँलाई स्थानीय कृषक, निजी क्षेत्र र सरकारी कार्यालयको संयुक्त प्रयासमा अदुवा केन्द्रका रूपमा विकास गर्न थालिएको हो ।
अदुवाखेतीको प्रशस्त सम्भावना भए पनि बजारको ग्यारेन्टी नभएका कारण निराश भएका सो क्षेत्र मात्र नभई आसपासका जिल्ला दैलेख, जाजरकोट लगायतका किसानहरु कालीदमारमा अदुवा प्रशोधन केन्द्र स्थापना भएपछि अरु बस्तु तथा बाली उत्पादन भन्दा राम्रो नगद आम्दानी गर्न सकिने अदुवा उत्पादनतिर आकर्षित बनेका छन् ।
यसै वर्षदेखि सञ्चालन भएको ‘अग्र्यानिक माउन्टेन फ्लेवर’ अदुवा प्रशोधन उद्योगले कृषकले उत्पादनको गरेको अदुवा खरिद गर्ने ग्यारेन्टी गरेको हो । उद्योगले कृषकलाई अग्र्यानिक खेती गर्न प्रेरित पनि गरिरहेको प्रशोधन केन्द्रका प्रवन्ध निर्देशक समीर नेवाले कृषि साप्ताहिकका प्रतिनिधिले सो केन्द्रमा गरेको अवलोकनका क्रममा बताएका थिए ।
आइफाडको आर्थिक सहयोगमा सञ्चालित कृषि विकास मन्त्रालयको उच्च मूल्य कृषि बस्तु विकास आयोजनाको मूल्य श्रृखला कोष लगानी कार्यक्रम अन्तर्गत अग्र्यानिक माउन्टेन फ्लेवर नामक सो अदुवा प्रशोधन केन्द्रले ८३ लाख ४९ हजार ७ सय ७५ रुपैयाँ अनुदान प्राप्त गरेको छ । ललितपुर जिल्लाको पाटनमा जम्मिएका समीर नेवा सुर्र्खेत पुगेर अदुवा प्रशोधनमा लगानी गरेका छन् । काठमाडौं व्यक्ति सुर्खेत आएर लगानी किन गर्नु भने भन्ने हाम्रो प्रश्नमा उनले भने लगानी गर्नेहरुले उचित प्रतिफल खोज्छन् । आफू विगतदेखि नै व्यवसायमा संलग्न रहेको र सुर्खेत, दैलेख जाजरकोटमा उत्पादन भएका अग्र्यानिक अदुवालाई प्रशोधन गरेर विदेश पठाउन पाए कृषि बस्तु निर्यात पनि हुने र आफूलाई पनि फाइदा हुने देखेर उनले सुर्खेतमा पुगेर लगानी गरेको बताए ।
सो प्रशोधन केन्द्रमा समीर नेवाको एक्लो लगानी मात्र होयन उद्योग बाणिज्य संघ सुर्खेतका उपाध्यक्ष प्रकाश अधिकारी र नेदरल्याण्डका एक विदेशीको पनि लगानी रहेको उनले बताए । कालीदमारको खोला छेउको केही रोपनी जग्गा किनेर शुरुवात गरेको अदुवा प्रशोधन केन्द्रले सो क्षेत्रमा केही परिवर्तन ल्याएको समीर बताउँछन् । दुईदर्जन भन्दा बढी स्थानीय बासिन्दाहरुले रोजगारी समेत पाएको बताउने समीरले प्रशोधनका लागि आवश्यक मात्रामा अदुवा उपलब्ध हुन नसकेको बताउँछन् । त्यही भएर पनि सो उद्योगले किसानहरुलाई अदुवा उत्पादन बढाउनका लागि प्रोत्साहन गर्न अग्रिम केही रकम समेत दिएको उनको भनाई छ । सो प्रशोधन केन्द्रबाट प्रशोधन गरिएका अदुवा सिधै युरोपका बजारमा विक्री वितरण गर्ने गरेको उनको भनाई छ ।

प्रकाशित मिति: आइतवार, बैशाख ६, २०७२