बिहिबार, बैशाख २०, २०८१

उखुको मूल्य निर्धारण हुने संकेत देखिएन, उद्योगी आर्थिक चलखेलमा

sugger acnकाठमाडौं,२४ फागुन । उखु किसानहरुले आफूहरुले उत्पादन गरेको उखुको मूल्य उत्पादन लागेत बढेका कारण उखुको मूल्य बृद्धि गर्ने माग राख्दै आन्दोलनमा उत्रिएका किसानहरुलाई मर्का नपर्ने गरी उखुको सन्तुतिल मूल्य तोक्न सरकारले उद्योग मन्त्रालयलाई निर्देशन दिएको हप्तौ वितिसक्दा पनि उखुको मूल्य निर्धारण हुन सकेको छैन ।
उखु उत्पादनक किसानहरुको उखुको मूल्य प्रति क्विन्टल ५ सय २५ रुपैयाँ पाउनुपर्ने माग राखेको भएपनि सरकारले माग अनुरुपको रकम दिने सम्भावन देखिएको छैन । यद्यपी किसान र उद्योगीहरु दुवैलाई मर्का नपर्ने गरी उखुको मूल्यलाई सन्तुलित रुपमा तोक्ने काम पनि आजसम्म नहुनुले उखुको मूल्य निर्धारण हुने संकेत देखिएन ।
उखुको कै विषयलाई लिएर व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले तत्काल उखुको समस्या समाधान गरी मूल्य तोक्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको भएपनि मन्त्रालयले सो निर्देशनलाई समेट टार्न खोजिरहेको आरोप लागिरहेको छ ।
उखुको मूल्य तोक्ने विषयमा किसानहरुको भन्दा पनि उद्योगीहरुको माग बमोजिम गर्नका लागि उद्योगीहरु आर्थिक चलखेलमा लागेकै कारण हालसम्म उखुको मूल्य तोक्न नसकेको आरोप लागेको छ । चिनी उद्योगीहरु चिनीको मूल्य अत्यन्तै न्यून बृद्धि गर्नका लागि आर्थिक मोलमोलाईमा जुटेको उद्योग मन्त्रालय स्रोतले कृषिलाई बताएको छ । उद्योग मन्त्रालयका उच्च अधिकारीहरु आर्थिक प्रलोभनमा परेकै कारण हालसम्म उखुको मूल्य तोक्न नसकेको स्रोतको दावी छ । स्रोतका अनुसार उखुको मूल्य किसानहरुको मागलाई केही न्युन गरी प्रति क्विन्टल करीव ४९० रुपैयाँको हाराहारी पु¥याउने तयारी गरिरहेको भएपनि उद्योगीहरुकै आर्थिक चलखेलका कारण सो मूल्य ४ सय ६१ भन्दा बढी पाउने संकेत देखिएको छैन । गत साल उखुको मूल्य ४ सय ७६ रुपैयाँ थियो भने यो बर्ष करीव १५ रुपैयाँ घट्ने संकेत देखाएको छ ।
तर उद्योगीहरु चिनीको बजार मूल्य घटेकोले किसानहरुलाई प्रति क्विन्टल ४ सय ११ रुपैयाँ भन्दा बढी दिन नसक्ने बताएका कारण पनि विवाद कायममै रहेको छ । उद्योगीहरुले ४ सय ११ रुपैयाँ मात्र दिन सक्ने बताएपछि कृषि मन्त्री हरिप्रसाद पराजुलीले भने नेपालमा चिनीको उत्पादनको तथ्यांक ढाँटेर किसान ठग्ने गरेकाले उद्योगीहरुलाई कार्वाही गर्ने चेतावनी समेत दिएका छन् ।
समितिको वैठकमा मन्त्री पराजुलीले एक क्विन्टल उखुबाट साँढे १० केजी चिनी उत्पादन हुने भएपनि उद्योगीहरुले ९ किलो मात्र उत्पादन हुने भनेर ढाँटिरहेको खुलासा गरे । नेपालमा लगाइएका उखुका जातबाट साँढे १० केजी भन्दा कम चिनी उत्पादन नहुने मन्त्री पराजुलीले ठोकुवा गरेका थिए । साथै उनले उखु र चिनी सम्वन्धी विवाद हरेक बर्ष हुने भएकाले दीर्घकालिन समस्या समाधान गर्नका लागि नयाँ नीति ल्याउनु पर्ने समेत बताएका थिए ।  -योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: आइतवार, फाल्गुन २४, २०७१