शनिबार, जेष्ठ ५, २०८१

पचास लाख लगानीमा व्यावसायिक कृषि खेती सुरु

बुटवल, २२ फागुन । रुपन्देहीको सिक्टहनमा रु ५० लाख लगानीमा २४ विघा जग्गामा व्यावसायिक कृषि खेती सुरु गरिएको छ । बुटवलमा स–सानो व्यवसायमा आबद्ध २१ जना स्वरोजगार युवा मिलेर ग्रामीण क्षेत्रमा व्यावसायिक कृषि खेती सुरु गरेका हुन् ।
उनीहरुले सामूहिक बहुउद्देश्यीय कृषि उपज तथा बिक्री समूह गठन गरेर कृषि फार्म सुरु गरेका छन् । फार्ममा समूहका सबै सदस्यले पहिलो चरणमा रु दुई लाखका दरले लगानी गरेका छन् ।
सिक्टहन गाविस–७ छोट्की गुम्मीमा सञ्चालनमा आएको कृषि फार्ममा अहिले माछापालन, कुखुरापालन, बेसार, अडहर, फलफूल र विभिन्न जातका तरकारी खेती लगाइएको छ ।
सिक्टहन माविको वर्षौंदेखि बाँझो रहेको १८ बिघा र व्यक्तिगत छ बिघा गरी २४ बिघा जग्गा १० वर्षका लागि भाडामा लिएर व्यावसायिक खेती सुरु गरिएको हो । दुई वर्ष अघिसम्म उजाड रहेको जग्गा अहिले खेतीपाती र माछापालन गरेर हराभरा देखिएको छ । फार्ममा एक वर्षभित्र ५० लाख लगानी थप गरी वार्षिक रु २० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको संस्थाका अध्यक्ष प्रकाश खनालले जानकारी दिएका छन् ।
फार्ममा अहिले दुई बिघामा पाँचवटा पोखरी खनेर विभिन्न जातका ३२ हजार माछापालन गरिएको छ । अर्को वर्ष थप तीन बिघामा माछापालन गर्ने योजना छ ।
यस्तै चार बिघामा बेसार खेती गरिएको छ । फार्मले आफै प्रशोधन र प्याकेजिङ गरी वार्षिक पाँच टन बेसार उत्पादन गर्ने लक्ष्य राखेको फार्मका उध्यक्ष नवराज फुल्लेलले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २२, २०७१