सोमवार, जेष्ठ ७, २०८१

बरामद गरिएका कुखुराका चल्ला नष्ट

khukurako challaलुम्बिनी, २६ माघ । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म भैरहवाले अहिलेसम्मकै सबैभन्दा ठूलो परिणाममा कुखुराका चल्ला बरामद गरेको छ । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक कमल तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल ल्याउँदै गरेको १५ लाख ५० हजार रुपैयाँबराबरको २१ हजार ६९० वटा कुखुराका चल्ला बरामद गरेको हो ।

सशस्त्र प्रहरीको गस्ती टोलीले सुराकीका आधारमा गएराति ३ बजेतिर नवलपरासीको रामग्राम–१ बैरियाबाट ती चल्ला बरामद गरी भैरहवा ल्याएको थियो ।
बरामद चल्लालाई क्वारेन्टाइन कार्यालयका कर्मचारी, स्थानीय पत्रकार, स्थानीयवासी र प्रहरीको रोहबरमा बिहान नष्ट गरिएको छ ।
बाँसको भाटामा बाँधेर ३०÷३५ जनाले चल्ला ल्याउँदै गरेका अवस्थामा प्रहरीले बरामद गरेको थियो । प्रहरी देखेपछि कुखुरा ल्याउँदै गरेका तस्कर भने भागेको प्रहरीले जनाएको छ ।
तस्करहरूले भारतीय बजारबाट सस्तो मूल्यमा खरिद गरी नेपालमा रहेका ह्याचरीमा मिसाएर बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ ।बर्डफ्लुका कारण कुखुरा भारतबाट नेपाल भित्र्याउन प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति: सोमवार, माघ २६, २०७१