आइतवार, जेष्ठ ६, २०८१

वस्तुको अनुसन्धान र उत्पादन गर्न फार्म सुरु

इलाम, १८ माघ । आलुखेतीमा विभिन्न रोगको समस्या देखिएपछि २०३५ सालदेखि बन्द रहेका उत्तरी क्षेत्र जमुना र जोगमाईमा रहेको आलु विकास फार्म पुनः सञ्चालनमा आएको छ । सरकारले यस वर्षदेखि नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कृषि अनुसन्धान केन्द्र र तरकारी विकास निर्देशनालयमार्फत बागवानी केन्द्र सञ्चालनमा ल्याएको हो । दुवै केन्द्रका लागि चौध चौध कर्मचारीको व्यवस्थासमेत सरकारले गरेको छ । समुद्र सतहबाट दुई हजार ८३४ मि उचाइमा रहेको यस क्षेत्रमा आलु विकास फार्मका नाममा आठ हजार ४२५ रोपनी जग्गा छ । भारतसँग सीमा जोडिएको यस क्षेत्रमा आलु विकास फार्म बन्द भएपछि त्यहाँको भौतिक पूर्वाधारसमेत भत्किएका थिए । कृषि अनुसन्धान केन्द्रका लागि चालु वर्षमा रु एक करोड २३ लाख बजेट विनियोजन भएको र बागवानी केन्द्रका लागि रु ७० लाख बजेट विनियोजन गरिएको अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: आइतवार, माघ १८, २०७१