शुक्रबार, चैत्र १६, २०८०

सर्लाहीका उखु किसान आक्रोशित

सर्लाही, १७ माघ । सर्लाहीको पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिलमा गत वर्ष दिएको उखुको भुक्तानी नपाएपछि स्थानीय किसान आक्रोशित भएका छन् ।

सर्लाहीकै हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले प्रतिक्विन्टल उखुको पेस्कीबापतको रु ४०० र बाँकी रु ७६ समेत भुक्तानी दिइसके पनि अन्नपूर्णले भने अधिकांश किसानको पेस्कीबापतकै रकम भुक्तानी नगरेपछि किसान आक्रोशित भएका हुन् ।
उखु उत्पादक किसान सङ्घका अध्यक्ष विवेककुमार सिंहले गत वर्षकै भुक्तानी नपाउँदा उखु किसान मारमा परेको बताए ।
गत पुस अन्तिममा जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा अन्नपूर्णका महाप्रबन्धकसहित व्यवस्थापन पक्षले माघ १५ गतेभित्र पेस्कीबापतको ४०० तथा माघ मसान्तभित्र बाँकी रु ७६ भुक्तानी सम्पन्न गर्ने लिखित प्रतिबद्धता गरेको भए पनि माघ १६ गतेसम्म पनि अधिकांश किसानलाई पेस्की रकम नै भुक्तानी नगरेको अध्यक्ष सिंहले जानकारी दिए । महाप्रबन्धक ज्ञानप्रसाद भट्टराईसहित जिम्मेवार अधिकारी उद्योगमा नबस्ने गरेकाले भुक्तानीबारे किसानबीच अन्योलता छाएको गुनासो गरे ।
“भुक्तानीका लागि उद्योगले पटक–पटक किसानलाई झुक््याउँदै आएको छ,” सिंहले भने, “अब कडा आन्दोलनको विकल्प छैन ।”
गत वर्षबाट सञ्चालनमा आएको उक्त उद्योगले १७ लाख क्विन्टल उखु क्रसिङ गरेको थियो । चालु याममा भने उक्त उद्योगले शुक्रबारसम्म साढे नौ लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ ।
उखुको भुक्तानी सम्बन्धमा बुभ्mन खोज्दा उद्योगमा महाप्रबन्धक भट्टराईसहित जिम्मेवार अधिकारी फेला पर्न सकेनन् भने मोबाइलमा पनि सम्पर्क हुन सकेन ।
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले उद्योग व्यवस्थापन पक्षलाई बोलाएर किसानको समस्या समाधानमा पहल सुरु गर्ने जानकारी दिएका छन् । सर्लाही मुलुकमै सबैभन्दा बढी उखुखेती हुने जिल्ला हो । यस वर्ष यहाँ २१ हजार हेक्टर क्षेत्रफलमा उखुखेती भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०७१