शुक्रबार, बैशाख २१, २०८१

दूधको मूल्य बढेपछि कृषि मन्त्रीलाई स्पष्टिकरण

DSC03680काठमाडौँ, १७ पुस । दूधमा चर्को मूल्य बृद्धि भएपनि उपभोक्ता हकअधिकारमा काम गर्नेहरुले सरकार विरुद्ध छिटपुटमात्र विरोध गरेको जस्तो देखिएपछि वास्तविक रुपमा राजनीतिक क्षेत्र वा उपभोक्ता अधिकारकर्मीहरु नाम मात्रका देखिए । तर उपभोक्ताहरु मारमा पर्ने गरी चर्को मूल्य बृद्धि गरेको भन्दै कृषि तथा जलस्रोत सम्वन्धि संसदीय समितिले भने कृषि मन्त्री हरिप्रसाद पराजुलीसँग स्पष्टिकरण माग गरेको छ ।
किसानलाई प्रोत्साहन गर्नका लागि उपभोक्ताहरु मारमा पर्ने गरी गरिएको चर्को मूल्य बृद्धिका कारण किसानहरुलाई केही राहत भएको देखिएपनि उपभोक्ताहरु भने मारमा परेका छन् । तर, कृषि मन्त्री हरिप्रसाद पराजुलीले संसदीय समितिमा दिएको स्पष्टिकरणमा भनिए जस्तै कृषि क्षेत्रलाई माथि उठाउँदै कृषकलाई प्रोत्साहन गर्न दूधको मूल्य बृद्धि गर्नु परेको कुरा स्वीकार गर्न भने सकिने अवस्था नदेखिएको समितिका एक सदस्यले कृषि अनलाईनलाई बताए । उनका अनुसार कृषि मन्त्रीले कृषकको मेहनतको उचित मूल्य दिलाउनका लागि भारतसँग सुहाँउदो हुने गरी दूधको मूल्य बृद्धि गरिएको भएपनि बढेको रकम किसानले भन्दा पनि व्यापारीहरुले बढी पाउने भएकाले किसानहरु प्रोत्साहित हुन नसक्ने बताएका छन् ।
दूधको अभावलाई अन्त्य गर्नका लागि भारतबाट महँगो मूल्यमा दूध आयात गरिरहनु परेको परिप्रेक्ष्यमा दूधको मुल्य बृद्धि गर्दैमा दूधको उत्पादन बढ्छ भन्नु आश्चर्य भएको समितिका सदस्यले बताए ।

प्रकाशित मिति: बिहिबार, पुस १७, २०७१