शनिबार, जेष्ठ ५, २०८१

मुलुकलाई आत्मनिर्भर बनाउन कृषि र ऊर्जा क्षेत्रको विकास आवश्यक

Finance-Minister-Dr-Ram-Sharan-Mahatविराटनगर, १५ पुस । अर्थमन्त्री डा रामशरण महतले देशमा औद्योगिक विकासका लागि सरकार नयाँ चरणमा प्रवेश गरेको बताउँदै उद्योगी तथा व्यापारीका समस्या समाधान गर्न सरकार खुल्ला दिमागले सम्बोधन गर्न तयार रहेको बताएका छन् । पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरूको विराटनगरमा आज आयोजित पदस्थापना समारोहमा मन्त्री डा महतले सरकारले १० महिनामा दूरगामी महत्व राख्ने निर्णय गरेको र आगामी तीन वर्षभित्र मुलुकको विद्युत् सङ्कट समाप्त हुने दृढता प्रकट गरे।
मुलुकमा यतिखेर ७०० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको र तीन वर्षको अवधिमा एक हजार १०० मेगावाट विद्युत् उत्पादन हुने उल्लेख गर्दै उनले भारतसँग विद्युत विस्तारका लागि प्रशारण लाइनको कार्य भइरहेको जानकारी गराएकाथिए । माथिल्लो तामाकोशी निर्माण कार्य सम्पन्न भएपछि वर्षायाममा विद्युत् निर्यात गर्ने अवस्था आउने भएकाले सो अवधिलाई ध्यानमा राखी उद्योगपतिलाई उद्योग क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।मुलुकको अवस्थामा सुधार आउनासाथ कर्णाली, अरुण तेस्रो र माथिल्लो त्रिशूलीको विद्युत् परियोजनाको सम्झौता भएको उल्लेख गर्दै मन्त्री डा महतले अन्य परियोजनाका लागि नयाँ वातावरण सिर्जना भएको जानकारी गराएकाथिए। उनले भारतसँग व्यापारको घाटा ४०० अर्ब र चीनसँग एक अर्बको रहेको उल्लेख गर्दै मन्त्री डा महतले निर्यातमा प्रतिस्पर्धा गर्न लागि कृषि क्षेत्र र ऊर्जा क्षेत्रको विकासमा जोड दिनुपर्ने स्पष्ट पारेका थिए  । उनले ठूल्ठूला उद्योगका लागि सरकारले नीति ल्याएको छ र सोअनुरुप निर्धारित मजदुर सङ्ख्या पुरयाउने उद्योगलाई पाँच वर्ष करमुक्त र ऊर्जा उत्पादन गर्नेलाई १० वर्षसम्म करमुक्त गर्ने नीति रहेको जानकारी गराए।
भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य चाँडै नै सुरु हुने उल्लेख गर्दे उनले नेपालको लगानीकर्ताको पहलमा तिब्बतबाट अन्तर्राष्ट्रिय विमान सेवा सुरु हुन लागेको जानकारी गराए। सो अवसरमा नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले समयमा बजेट खर्च भएमा आर्थिक क्षेत्र चलायमान हुने भएकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराएकाथिए। उनले बन्द हड्तालले गर्दा मुलुकको आर्थिक क्षेत्र तहसनहस हुने भएकाले बन्दको आह्वान गर्ने दललाई फिर्ता लिन आग्रह गरेका थिए । मोरङ व्यापार सङ्घका अध्यक्ष पवन शारडाले ग्राहस्थ उत्पादन नबढे मुलुकको विकास असम्भव रहेको भन्दै कर फछ्र्यौट आयोग गठनको माग गरेका थिए। कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष किशोर प्रधान, कोसी अञ्चल प्रतिनिधि मोहित प्रसाईं र नवनिर्वाचित अध्यक्ष टङ्क दुलालले बोलेका थिए। सोही अवसरमा पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य सङ्घका कावा अध्यक्ष राजेन्द्र राउतले नवनिर्वाचित अध्यक्ष टङ्क दुलाललाई पद हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०७१