शुक्रबार, चैत्र १६, २०८०

सयपत्री फूलको उत्पादन बढाउन माटो परीक्षण गरिने

ललितपुर, १५ पुस । मुलुकमा वार्षिक रु एक अर्ब १५ करोड बराबरको फूलको कारोबार हुने गरेको छ । त्यस्तै, अबको केही दिनमा नयाँ सयपत्री फूलको उत्पादनका लागि माटो परीक्षण पनि गरिने भएको छ । फ्लोरिकल्चर एसोसिएसनको उपाध्यक्ष कुमार कसजुका अनुसार हाल नेपालमा तीन प्रजातिका सयपत्री फूल व्यावसायिक रुपमा खेती हुँदै आएको छ । अन्य फूलको तुलनामा सयपत्री फूलकोे बढी मात्रामा प्रयोग हुने भएकाले उत्पादन बढाउन नयाँ जातको फूल ल्याउन लागिएको हो । परीक्षण गर्न लागिएको सयपत्री फूलको नाम अहिले नै यकिन भने भइसकेको छैन । परीक्षण गर्ने स्थान भने उल्लेख भइसकेको छ । परीक्षण हुने स्थानमा ललितपुर, काठमाडौँ, चितवन, धनुषा, कैलाली, धादिङ, इलाम र म्याग्दीका केही स्थान रहेका छन् ।
नेपालमा प्रयोग हुँदै आएका सयपत्री फूलमा इन्ट्रामेरीगोल्ड, अफ्रिका मेरीगोल्ड र इन्डियन मेरीगोल्ड रहेका छन् । उत्पादित सयपत्री फूल काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला, धादिङ, चितवन र काभ्रेपलाञ्चोकमा खपत हुने गरेको छ नेपालमा उत्पादित सबै प्रकारका सयपत्री फूल सजावटका लागि प्रयोग गर्दै आएको भए पनि अब माटो परीक्षण गर्न लागिएको सयपत्री भने बास्नादार तेल र अत्तरका लागि प्रयोग गरिने छ । परीक्षणका लागि ल्याउन लागिएको उक्त फूल हाल हङ्कङ र चीनमा व्यावसायिक रुपमा खेती हँुदै आएको छ । हरेक वर्ष फूलको खेती व्यावसायिक रपमा बढ्दै गएको भए पनि अझै पनि वार्षिक रुपमा २० प्रतिशत फूल विदेशबाट आयात गर्नुपरेको एसोसिएसनले बताएको छ । रासस

प्रकाशित मिति: मङ्लबार, पुस १५, २०७१