आइतवार, जेष्ठ ६, २०८१

पाल्पामा डढुवा रोगको प्रकोप

पाल्पा, ११ पुस । कृषकहरु आलुमा डढुवा रोग देखापरेपछि उपचारतिर लाग्न थालेका छन् । आलु उम्रेर दुईपाते नहुँदै डढुवा रोगले सताएपछि कृषि विकास कार्यालय तथा सेवा केन्द्र धाउन थालेका छन् । महँगो आलुको बीउ किनेर लगाएको महिना दिन नपुग्दै रोग देखापर्दा आलुको उत्पादन लिन नपाइने चिन्तामा कृषक छन् । रामपुर, माडी र अर्गलीलगायत क्षेत्रका कृषकले लगाएको आलुमा डढेलोले सताएको छ । अहिलेसम्म जिल्लाभरिमा १५÷२० प्रतिशत आलुमा डढुवा रोग देखापरेको जिल्ला कृषि विकास कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत थमबहादुर कार्कीका अनुसार कृषकले उन्नत जातको बीउ नभएर स्थानीयस्तरको बीउलाई प्रयोग गर्नु, आलु रोप्नुभन्दा पहिला बीउ उपचार नगरी रोप्दा यस्तो समस्या निम्तिने गर्छ ।
आलुमा रोगै लाग्न नदिनका लागि डाइथेनियम ४५ वा इन्डोफिलियम ४५ नामक विषादी तीन ग्राम प्रतिलिटर पानीमा घोली १०÷१० दिनको फरकमा पूरै बोट नै भिज्ने गरी छरिदिने गरेमा डढुवा रोग लाग्नबाट बचाउन सकिने सल्लाह अधिकृत कार्कीले कृषकलाई दिएका छन् ।
उनका अनुसार एक दुई पातमा डढुवा देखापरेमा क्रिन्याक्सिल वा क्रिनोक्सिल गोल्ड नामक विषादी एकदेखि डेढ ग्राम प्रतिलि पानीमा घोलेर छरेमा पनि आलुलाई डढुवा रोग लाग्नबाट बचाउन सकिने बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७१