शनिबार, जेष्ठ ५, २०८१

दार्चुलाका सबै गाविस खाद्यमा असुरक्षित

दार्चुला, ३१ असोज । दार्चुलाका बीस हजारभन्दा बढी घरधुरीले खेती गरे पनि बाह्रै महिना खान नपाउने गरेका छन् । जिल्लाका २१ हजार घरपरिवारले सधैँजसो खेतीपाती गर्दै आए पनि उनीहरुलाई तीनदेखि छ महिनासम्म मात्र खान पुग्ने गरेको जिल्ला कृषि कार्यालयले जनाएको छ । उत्पादित खेतीले १२ महिना खान पुग्ने तीन सय ९१ घरधुरी, ६ देखि १२ महिनासम्म खान पुग्ने पाँच हजार १७१ घरधुरी, दुईदेखि छ महिनासम्म खान पुग्ने आठ÷आठ हजार ५४१ र तीन महिनाभन्दा कम खान पुग्ने छ हजार ८९६ घरधुरी रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । खेतीपाती गरिने मुख्य खाद्य बालीमा मकै, गहुँ र धान रहेको छ । २१ हजार घरधुरीका लागि २६ हजार ७८८ मेट्रिकटनभन्दा बढी अन्न आवश्यक रहेकोमा २४ हजार २३६ मेट्रिकटन उपलब्ध रहेको अधिकृत ठगुन्नाले जानकारी दिनुभयो । दुई हजार ५५२ मेट्रिकटन खाद्यान्न अपुग हुने उहाँको भनाइ छ । दार्चुलाका सबै गाविस कृषि उत्पादनका आधारमा खाद्य असुरक्षित रहेका छन् । औसतमा खेती गरेरै बाह्रै महिना खान पुग्ने जिल्लाका कुनै गाविस नरहेको कृषि कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज ३१, २०७१