सोमवार, जेष्ठ ७, २०८१

दाङमा काटेको धानबाली पनि क्षति

तुलसीपुर, ३० असोज । अविरल रूपमा परेको बेमौसमी पानी तथा हावा हुरीले जिल्लामा काटेको धानबालीमा व्यापक क्षति पुगेको छ । धान काटेर गह्रामा सुकाएका किसानले अनपेक्षित वर्षात्का कारण सुरक्षित स्थानमा राख्नसमेत नभ्याउँदा व्यापक क्षति पुगेको हो ।

मौसम पूर्वानुमान शाखाले आज बिहीबारदेखि मौसममा सुधार आउने जनाएका कारण घाम लागेमा भने काटेको धानबालीलाई केही हदमा राहत हुने पीडित किसानले बताएका छन् । जिल्लामा झन्डै ३० प्रतिशत धानबाली स्याहार्ने अवस्थामा पुगेको छ ।
सोमबार दिउँसोदेखि लगातार परेको हावाहुरीसहितको पानीले विशेष गरेर जिल्लाको देउखुरी क्षेत्रलगायतको अधिकांश भित्र्याउन तयार भएको धानबालीलाई बढी असर गरेको बताइएको छ ।
“नसोचेको मौसममा वर्षात् भयो, त्यसले काटेर खेतमै सुकाइएका धान गह्रामै उम्रने अवस्थामा छ”, मानपुर मज्गैका किसान रमेश खत्रीले बताउनुभयो । त्यसैगरी ग्वारखोला क्षेत्रमा पनि केही काटेको धान क्षति हुने अवस्थामा रहेको स्थानीय किसानले बताएका छन् ।

प्रकाशित मिति: बिहिबार, अशोज ३०, २०७१