शनिबार, जेष्ठ ५, २०८१

आलुको बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा

दाङ (तुलसीपुर), २४ असोज । दाङमा हिउँदे आलु रोप्ने समय भएपनि तुलसीपुरलगायत जिल्लाका बजारमा आलुको बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा परेका छन् । पसलैपिच्छेको फरक मूल्यका कारण किसान मारमा पर्नुका साथै कुन पसलबाट आलुको बीउ किन्ने भन्ने अन्योलमा उनीहरू रहेका छन् । तुलसीपुर बजारमा आलुको बीउ किन्न आउनुभएकी हेकुली गाविस–१ रावत गाउँकी शोभर्ना पाध्यले आफू पाँचवटा पसलमा आलुको बीउ किन्न गएकामा प्रत्येक पसलमा फरक फरक मूल्य पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एउटै आलु कुनै पसलमा प्रतिकेजी रु १२० मा पाइन्छ भने कुनैमा १४० देखि १५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।” अहिले तुलसीपुर बजारमामात्र होइन जिल्लाका नारायणपुर, घोराही, लमही, भालुबाङलगायतका बजारमा पनि आलुको बीउको मूल्यमा एकरुपता नभएको भन्दै उपभोक्ताले गुनासो गर्नुका साथै मूल्यमा एकरुपता ल्याउन सरोकार निकायसँग माग गरेका छन् । तुलसीपुर बजारमा आलुको बीउ लिन आउनुभएका तुलसीपुर–४ का तिलक चौधरीले बजारमा व्यापारीले चर्काे मूल्यमा आलुको बीउ बिक्री गर्दासमेत सम्बन्धित निकाय मौन बस्नुले आफूहरू मारमा परेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “कालोबजारी गर्नेलाई कारबाही गर्न राज्यले खुट्टा कमाइरहेकाले व्यापारीले मनोमानी तरिकाले मूल्य तोक्ने गरेका हुन् ।    –कृसा

प्रकाशित मिति: शुक्रबार, अशोज २४, २०७१