शनिबार, जेष्ठ ५, २०८१

मखानको बिक्री बढ्यो

गौशाला, १९ असोज । महोत्तरीलगायत मिथिलाञ्चलमा मनाइने कोजाग्रत पर्वका कारण अहिले यहाँका बजारमा मखानको बिक्री बढेको छ । दुई दिनपछि मनाइने कोजाग्रत पर्वका अवसरमा मिथिलाको घरघरमा मखान खाने, नवविवाहिता छोरीको ससुरालीमा कोसेली पठाउने, इष्टमित्र, आफन्त र गाउँलेहरूलाई बांढ्ने चलन रहेका कारण अहिले बजारमा मखानको बिक्री बढेको हो । कोजाग्रत पूर्णिमाका दिन मनाइने यस पर्वको अवसरमा मिथिलाञ्चलको प्रत्येक घरमा दुई किलो देखि सय किलोसम्म मखान खरिद हुने गरेकाले अहिले मखानको बिक्री बढेको छ ।
अहिले महोत्तरीका बजारमा मखानको आकार, गुणस्तर र मिठोपनाअनुसार प्रतिकिलो रु ४०० देखि ५५० र कहीँकहीँ रु ६०० सम्म पर्ने गरेको छ । महोत्तरीको जलेश्वर, गौशाला, बर्दिवास, मटिहानी, पिपरा, मनरा, सम्सी, बलवालगायतका बजारमा ठूलोमात्रामा मखानको कारोबार हुने गरेको छ ।

प्रकाशित मिति: आइतवार, अशोज १९, २०७१