शुक्रबार, जेष्ठ ४, २०८१

फलफूलका बिरुवाबाटै बार्षि सात लाख

खोटाङ, १६ असोज । फलफूलका बिरुवा बिक्री गरेर खोटाङका एक कृषकले वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
याम्खा–५ का ५४ वर्षीय रामनिधि आचार्यले बाँझो रहेको १० रोपनी जग्गामा लगाएको विभिन्न प्रजातिका फलफूलका बिरुवा बिक्री गरेर वार्षिक रु सात लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको बताएका छन् ।
आफूले उत्पादन गरेको सुन्तला, अनार, कुरिलो, कागती, जुनार, निबुवा, अम्बा, लिचीलगायतका फलफूलका बिरुवा घरैबाट बिक्री हुने गरेको आचार्य बताउँछन् । सुरुमा त त्यति राम्रो अम्दानी भएन तर, अहिले आएर वार्षिक रु सात लाखभन्दा बढी अम्दानी हुने गरेको उनको भनाई छ ।
अन्य बालीभन्दा कम मिहिनेत र हावापानीले असर पनि नगर्ने भएकाले आफूले फलफूलको नर्सरी लगाएको उनले बताए । आचार्यका अनुसार नर्सरीमा उत्पादित फलफूलका बिरुवा प्रतिगोटा रु २० देखि रु ५० मा घरैबाट बिक्री हुने गरेको छ ।
पाँच वर्षअघिदेखि सुरु गरेको नर्सरीबाट उत्पादित बिरुवा जिल्ला कृषि विकास कार्यालय खोटाङ, विभिन्न गाविस, छिमेकी जिल्ला भोजपुर र उदयपुरमा समेत बिक्री हुने गरेको आचार्यको भनाइ छ । धनकुटामा लिएको तालिमपछि आफ्नो नाङ्गो डाँडा फँडानी गरेर नर्सरी लगाएको आचार्यले बताए ।

प्रकाशित मिति: बिहिबार, अशोज १६, २०७१