शुक्रबार, जेष्ठ ४, २०८१

कफी विकास बोर्ड नै बन्नु पर्ने

काठमाडौं, ३१ श्रावण । कफी व्यवसायमा संलग्न किसान तथा व्यवसायीहरुले चिया तथा कफी विकास बोर्डले नेपाली कफीको विकास गर्न नसकेको भन्दै लामो समयदेखि कफी विकास बोर्डको माग गरिरहेका छन् । चिया तथा कफी विकास बोर्डमा कफी विज्ञ समेत नभएको अवस्थामा त्यसले कफीको विकास हुन नसक्ने बताउँदै आएको पनि छ । हुन पनि चियाको तुलनामा कफीको उत्पादन अत्यन्तै कम छ । तर चियाको भन्दा कफीले विदेशमा बजार बढाउँदै गएको छ । नेपाली कफी विशेष गरी अर्गानिक कफी प्रति विदेशी कफी पारखीहरु मोहित नै भएका देखिन्छन् । यति हुँदा हुँदै पनि सरकारले जसरी कफी उत्पादनलाई जोड दिनु पर्ने हो त्यो दिन सकिरहेको छैन । कफी प्रशोधनका लागि केही आयोजनाहरुले अनुदान दिएपनि त्यो अनुदान कतै औचित्य नभएको हो कि भन्नेमा स्वयं कफी व्यवसायीहरुले नै शंका व्यक्त गर्न थालेका छन् । कफी प्रशोधन भन्दा पनि कफी उत्पादनमा नै बढी जुट्नु पर्ने उनीहरुको धारणा छ ।
हुन पनि कफीलाई व्यवसायिक रुपमा अगाडि बढाउने र त्यसलाई विदेशी बजारमा पु¥याउनका लागि सरकारले उत्पादनतिर जोड दिनका लागि पनि कफी विकास बोर्ड नै गठन गर्नु पर्दछ । कृषि विकास मन्त्रालयले कफी विकास समिति गठन गर्ने र चिया बोर्डबाट हटाउने तयारी गरिरहेका भएपनि त्यसलाई समितिमा मात्र समिति नराखी बोर्ड कै रुपमा विकसित गर्नु पर्दछ ।
चिया र कफीलाई छुट्टा छुट्टै बोर्डका रुपमा अगाडि बढाउन सकिने हो भने दुवै कृषि उपजको उत्पादन बढ्न मद्दत पुग्न सक्ने कफी व्यवसायी महासंघका अध्यक्ष श्याम भण्डारीले बताउनु भयो ।
भण्डारीका अनुसार आफूहरुले विगत लामोसमयदेखि कफी विकास बोर्डको माग गरिरहेकोमा अव भने आशा गर्ने ठाउँ प्रशस्त रहेको समेत बताउनु भयो । कृषि विकास मन्त्रालयले समिति बनाउने तयारी गरिरहेको भएपनि अन्ततोगत्वा बोर्ड नै बन्नेमा आफू ढुक्क रहेको समेत भण्डारीले बताउनु भयो ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०७१