शनिबार, जेष्ठ ५, २०८१

म्याग्दी कृषि उपज सङ्कलन केन्द्र निर्माण

म्याग्दी, १९ असार । म्याग्दीको उत्तरी क्षेत्र घार गाविसका किसानले कृषि उपज सङ्कलन केन्द्र निर्माण गरेका छन् ।

गाउँमा उत्पादित तरकारी, फलफूललगायतका कृषि उपज सङ्कलन गरी सहज रूपमा बजारीकरण गर्न रु चार लाखभन्दा बढीको लगानीमा मालिका कृषक समूहमा आबद्ध किसानले घार–५ मा केन्द्र निर्माण गरेका हुन् ।
उत्पादनलाई बजारमा लैजान कृषकले धेरै समय खर्चनुपर्ने र त्यसमा पनि उचित मूल्य तथा बजार नपाउने समस्या भएपछि सबैले उत्पादन गरेको तरकारी, आलु र फलफूल केन्द्रमा सङ्कलन गरी एकीकृत रूपमा बजारमा पु¥याउने व्यवस्था मिलाउन केन्द्र स्थापना गरिएको समूहका सचिव बेलबहादुर बरुवालले जानकारी दिनुभयो ।
समूहमा आबद्ध २५ जनाले जिल्ला कृषि विकास कार्यालयको आर्थिक सहयोगमा श्रमदान गरेर निर्माण गरेको केन्द्रबाट घार–५, ६ र ७ का डेढ सय घरधुरी कृषक लाभान्वित हुने सचिव बरुवालले बताउनुभयो ।
केन्द्रको भवन निर्माणका लागि जिल्ला कृषि विकास कार्यालयले एकीकृत बाली तथा जलस्रोत व्यवस्थापन आयोजनाअन्तर्गत रु दुई लाख ५० हजार अनुदान सहयोग गरेको भवन निर्माण समितिका अध्यक्ष फौदबहादुर बरुवालले जानकारी दिनुभयो ।
अध्यक्ष बरुवालका अनुसार कृषि उपज सङ्कलन केन्द्रको दुईकोठे भवन निर्माण गर्न समूहमा आबद्ध किसानले रु ३० हजार तथा रु ४० हजार बराबरको श्रमदान गरेका छन् । कृषि साप्ताहिक

प्रकाशित मिति: बिहिबार, असार १९, २०७१