शुक्रबार, जेष्ठ ४, २०८१

फेरिँदै सुकुम्बासीको जीवन

रत्ननगर (चितवन), १० असार । चितवन रत्ननगरका सुकुम्बासीहरूलेण् व्यवसाय गरेर आयआर्जन गर्न थालेका छन् । रत्ननगरका विभिन्न क्षेत्रमा बसोबास गर्ने सुकुम्बासी अहिले बाख्रा, बङ्गुर, गाईपालन गरेर आम्दानी लिन सफल भएका छन् । उनीहरूले हस्तकलाका सामग्री बनाएर राम्रो आम्दानी गर्न थालेको स्थानीय फूलमान तामाङले बताउनुभयो । कतिपयले पसलसमेत सञ्चालन गरेका छन् । उनीहरूले अहिले सहकारीमार्फत ऋण लिएर व्यवसायसमेत सुरु गरेको उनीहरूलाई सहयोग गर्दै आएको संस्था लुमन्तिका कार्यक्रम संयोजक सिंहबहादुर लामाले बताउनुभयो । संस्थाले विगत लामो समयदेखि उनीहरूलाई सहयोग गर्दै आएको छ । रत्ननगरको विभिन्न स्थानमा संस्थाले आवाससमेत निर्माण गरिदिएकाले काम गर्न सहज भएको सुकुम्बासीले बताएका छन् । यहाँका १४ सुकुम्बासी बस्तीमा कार्यक्रम चलिरहेको लामाले बताउनुभयो । यी बस्तीमा ७०० भन्दा बढी घरधुरी छ । उनीहरूका लागि आकृति बचत तथा ऋण सहकारी खोलिएको छ । सोही सहकारीमार्फत सुकुम्बासीलाई बचत र ऋण लगानी गर्ने गरिएको लामाले बताउनुभयो । सुकुम्बासी सुधार समिति रत्ननगरका अध्यक्ष फूलमान व्यवसाय सुरु गरेपछि सुकुम्बासीमा बचत गर्ने बानीको विकास भएको र समूहमा मिलेर बस्ने, क्षमता बढाउने र व्यवसायमा लाग्नेसम्मको चेतना सुकुम्बासीमा आएको बताउनुहुन्छ । विगतमा त्यसै तार खेलेर र मदिरा पिएर हिँड्ने सुकुम्बासीमा अहिले परिवर्तन आएको छ । यहाँ करिब तीन हजार सुकुम्बासी रहेको तथ्याङ्क छ । -कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, असार १०, २०७१