आइतवार, जेष्ठ ६, २०८१

पशु उत्पादनले बाँड्यो दूध उत्पादनका सामग्री

बनेपा, ९ जेठ । काभ्रेको उग्रचण्डीनाला गाविस–५ स्थित शेरामा गुणस्तरीय दूध उत्पादन तथा प्रवद्र्धनका लागि आज विभिन्न सामग्री वितरण गरिएको छ ।

दूधको गुणस्तरियताका बारेमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला पशु उत्पादन निर्देशनालयले सो गाविसका झन्डै १०० कृषकलाई छनोट गरेर करिब रु दुई लाख ६० हजार बराबरको सामग्री वितरण गरेको हो ।
ती सामग्रीमा दूध दुहुने बाल्टिन, युरिया मोलासिस ब्लक, विभिन्न पशु आहारसम्बन्धी वस्तु, पशुमा लाग्ने थुनेलो, भ्यागुते रोगको औषधिलगायत छन् ।
सो अवसरमा बोल्दै पशु उत्पादन क्षेत्रीय निर्देशनालयका कार्यक्रम निर्देशक डा दिनेश पराजुलीले उन्नत जातका पशुमा थुनेलो रोग चुनौतीपूर्ण भएको उल्लेख गर्दै युवा लक्षित कार्यक्रमअन्तर्गत पशुका व्यावसायिक फार्मलाई अनुदान दिने कार्यक्रम भएको जानकारी दिनुभयो ।
पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा लोकनाथ पौडेलले पशुको खानपान, स्याहारसुसार, स्वास्थ्यमा ध्यान नदिए दूधको उत्पादन वढन नसक्ने उल्लेख गर्दै दूधको बिक्री वितरणवाट सहरको पैसा गाउँ आएको छ भन्नुभयो ।
उहाँले दूधको उत्पादन लागत महँगो भएकामा चिन्ता व्यक्त गर्दै मानिसले प्रतिदिन प्रतिव्यक्ति १५० ग्राम दूध खाइरहेको बताउनुभयो ।
अधिकृत पौडेलले देशभरबाट कुल १६ लाख मेट्कि टन दूध उत्पादन भएकामा त्यसको झन्डै १६ प्रतिशतमात्रै व्यावसायिक तरिकाले बजारमा आएको बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ९, २०७१