आइतवार, जेष्ठ ६, २०८१

महोत्तरी जिल्ला बर्डफ्लुको जोखिममा

जनकपुरधाम, १९ वैशाख । नेपाल–भारबीच रहेको खुल्ला सीमाका कारण भारतीय कुखुरा तथा कुखुराजन्य पदार्थ भित्रिन थालेपछि महोत्तरी जिल्ला बर्डफ्लु रोगको जोखिममा पर्न थालेको छ । पशु क्वारेन्टाइन चेकपोस्ट भिट्ठामोडका अनुसार आर्थिक वर्ष २०७०/०७१ को अवधिमा भारतबाट अवैध रूपमा करिब सात लाख मूल्य बराबरका भारतीय कुखुरा, चल्ला, अण्डा र मासु नेपाल भित्रिएको छ । महोत्तरी जिल्लाअन्तर्गत रहेका सीमा क्षेत्रका सुरक्षाकर्मीहरूले सो अवधिमा भारतीय कुखुरा, चल्ला, अण्डा र मासु पक्राउ गरी क्वारेन्टाइन कार्यालयलाई बुझाएको र ती सबै पदार्थ नष्ट गरिएको पशु चिकित्सक परमानन्द झाले बताए .
भारतबाट अवैध रूपमा चोरी गरी ल्याइएका यस्ता कुखुरा तथा कुखुराजन्य पदार्थ महोत्तरीको बर्दिवासमा भण्डारण गरिने तथा त्यहाँ नक्कली प्रमाणपत्र बनाउने गिरोह नै सक्रिय रहेको बताइएको छ । त्यहाँबाट उनीहरूले कुखुराजन्य पदार्थ चितवन, काठमाडौँ, झापालगायतका ठाउँमा लाने गरेका छन् । सरकारले भारतबाट कुखुरा तथा कुखुराजन्य पदार्थको आयातमा रोक लगाए पनि यहाँ एउटा ठूलो गिरोह नै सक्रिय रहेको छ जसले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको आँखा छली यस्ता पदार्थ नेपाल भित्र्याउने गरेका छन् । नेपालमा भन्दा भारतमा कुखुरा, चल्ला र कुखुराजन्य पदार्थ ३० देखि ४० प्रतिशतसम्म सस्तो भएकाले तस्करहरूले तस्करी गर्ने गरेको कुखुरा व्यवसायीहरूबाट थाहा भएको छ । -कृषि साप्ताहिक

प्रकाशित मिति: शुक्रबार, बैशाख १९, २०७१