शुक्रबार, बैशाख ७, २०८१

असिना पानीले लाखाँैको तरकारी र गहुँ बाली नष्ट

भक्तपुर, २० वैशाख । दुईदिन अघि परेको असिना पानीले भक्तपुरमा लगाइएको लाखौँ मूल्य बराबरको तरकारी र भित्र्याउने बेला भएको गहुँ बाली नष्ट भएको छ । करिब एक घण्टा लगातार परेको असिना पानीका कारण तरकारीका बेर्ना र हालै रोपिएका तरकारी पूर्ण रुपमा नष्ट भएको छ । विशेषगरी तरकारीको पकेट क्षेत्र मानिने मध्यपुरथिमिको नगदेश, बोडे, भक्तपुर नगरको व्यासी, गाविसमा ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल र गुण्डु क्षेत्रमा लगाइएका तरकारी नष्ट भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
असिना पानीबाट बिक्री गर्ने बेला भएको हरिया तरकारीभन्दा पनि तरकारीको बेर्ना र एक महिनाभित्र रोपिएका तरकारी पूर्ण रुपमा नष्ट भएको ताथली गाविस– ६ का सानुभाइ गिरीले बताए । उनका अनुसार हरिया तरकारीमा बन्दा, काउँली, फर्सी, काँक्रो, खुसार्नी, बोडी, लहरे सिमी, सिमी, भान्टालगायतका तरकारी बाली नष्ट भएको छ । त्यसैगरी कृषकले रोपेको आलुसमेत असिनाले नष्ट पारेको छ । सिपाडोल गाविसका कान्छाभक्त श्रेष्ठले खन्ने बेला भएको आलु असिना पानीले नष्ट बनाएको  बताए । असिनाले खाएको आलु केही दिनमै बोट मै कुहिन थाल्ने र खनेर घरमा लगेपनि भण्डारण गर्न नपाई कुहिन थाल्ने भएकाले लाखाँैका आलुसमेत बिगारेको छ ।  असिना पानीले बोडे, नगदेशमालगायतको हरिया तरकारी गाँजर, सलगमलगायत १८ जातका हरिया तरकारी नष्ट पारेको नगदेशका कृषक रामप्रसाद प्रजापतिले बताए । असिना पानीले अधिकांश गाविसका भित्र्याउने बेला भएको गहुँ र सुडाल, बागेश्वरी क्षेत्रमा हालै रोपिएको मकैमासमेत क्षति पु¥याएको कृषकले बताएका छन् ।  -कृषि साप्ताहिक

प्रकाशित मिति: शनिबार, बैशाख २०, २०७१