आइतवार, जेष्ठ ६, २०८१

कौसीको तरकारी खेतीबाट आत्मनिर्भर हुन सकिने

काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले सहरी क्षेत्रमा पनि अत्यन्तै सरल र सहजरुपमा कौसीमा तरकारी खेती गर्न सकिने भएकाले त्यसको प्रचार प्रसार गर्नुपर्ने बताए । काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा रहेका कौसी तरकारी खेती र कम्पोष्ट मल कारखानाको आज निरीक्षण गर्दै उहाँले सामान्य खर्चमा भान्छाबाट निस्किएका फोहर र पानीबाट यस्तो करेसाबारी सञ्चालन गर्न सकिने भएकाले त्यसको प्रवद्र्धन गर्नुपर्ने बताए । उनले ‘रुफ टप गार्डेन’को अवधारणालाई राज्यकै नीतिमा समावेश गर्नुपर्नेमा जोड दिए । सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले फोहरलाई मोहर बनाउने काममा उद्यमीलाई सघाउन सरकार तयार बताए ।
मुलुकलाई तरकारी तथा फलफूलमा आत्मनिर्भर बनाउन सकिने धारणा राख्दै उनले सहरलाई सुन्दर र हरियाली बनाउन कौसी खेती प्रणाली प्रभावकारी हुने बताए । काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले ‘रुफ टफ गार्डेन’का लागि हालसम्म ६५० जनालाई तालिम दिइसकेको र यसै वर्ष थप ५०० जनालाई तालिम दिने तयारी भइरहेको जानकारी दिए । फोहर मैला प्राविधिक केन्द्रका कार्यकारी प्रमुख डा. सुमित्रा अमात्यले फोहर व्यवस्थापन गरी प्राङ्गारिक मल उत्पादनमा सहयोग पु¥याएको  र कौसी खेतीका लागि सक्दो सहयोग गर्ने बताएका थिए । अनुगमन टोलीले कालिकास्थानस्थित साहित्यकार पवन आलोक र गृहिणी रेखा कँडेल तथा सेयर बजारका लगानीकर्ता दिलीप श्रेष्ठको ‘रुफ टप गार्डेन’को अनुगमन गरेको थियो । टोलीले चोभारस्थित कम्पोष्ट मल उत्पादन केन्द्र, सैंबुको  बायोकम नेपालको कम्पोष्ट मल कारखानाको पनि निरीक्षण गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख १८, २०७१