शुक्रबार, बैशाख २८, २०८१

सरकारले कृषिमा दिने अनुदान प्रभावकारी

चापागाउँ (ललितपुर), ५ वैशाख । कृषि विकास मन्त्रालय अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव उत्तमकुमार भट्टराईले सरकारले कृषिमा दिने अनुदान प्रभावकारी भएको बताउनुभएको छ । कृषि विभागको आर्थिक वर्ष २०७०/०७१ को द्वितीय चौमासिक प्रगति विवरणबारे जानकारी दिन आयोजित कार्यक्रममा सहसचिव भट्टराईले कृषिप्रधान मुलुक नेपालका अधिकांश जनता कृषिमा निर्भर रहेको अवस्थामा सरकारले यस क्षेत्रमा गर्ने लगानीमा वृद्धि गर्नुपर्ने बताउनुभयो ।
सरकारले कृषिमा दिने अनुदानअन्तर्गत उच्च पहाडी २६ जिल्लामा मल तथा खाद्यान्न बालीमा दिइने सहयोग प्रभावकारी भएको उहाँको भनाइ थियो । कृषि विभागका उपमहानिर्देशक वीरेन्द्रबहादुर हमालले हुम्ला र जुम्लामा मात्र १३ मेट्रिक टन प्राङ्गारिक मल तथा १२० मेट्रिक टन बीउ ढुवानी गरिसकेको जानकारी दिनुभयो । उच्च पहाडका जिल्लामा तीन हजार ५९५ मेट्रिक टन रासायनिक मल ढुवानी भइसकेको जनाइएको छ । मध्यपहाडका ४० जिल्लामा ‘बृहत्तर मकै उत्पादन कार्यक्रम’ सञ्चालन गर्ने लक्ष्य लिएकामा दोस्रो चौमासिकभित्र १६ हजार ५७३ हेक्टर जग्गामा सो योजना सम्पन्न भइसकेको छ ।
साथै तीन हजार ४२७ हेक्टर जमिनमा बीउ वितरणका लागि व्यवस्थापनकार्य भइरहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार साना तथा सहकारी सिँचाइ कार्यक्रम ७५ जिल्लामा सञ्चालन गर्ने अपेक्षा लिइएकोमा एक हजार ६०८ नयाँ निर्माण गरिएको र ३४८ पुरानो मर्मत भई ८१७ वटा सम्झौताका साथ कार्यक्रम सुरु भएकामा १०२ वटा सम्पन्न भएको छ । कार्यक्रममा देशका पाँचै विकास क्षेत्रका क्षेत्रीय कृषि निर्देशनालयले गरेको प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो ।  -कृषि साप्ताहिक

प्रकाशित मिति: शुक्रबार, बैशाख ५, २०७१