बिहिबार, बैशाख २७, २०८१

भारतीय तरकारी आयातमा बढोत्तरी

भद्रपुर, १७ चैत । मुलुकको पूर्वी नाका काँकरभिट्टा भएर भारतबाट तरकारी आयातमा बर्सेनि वृद्धि भइरहेको छ । झापा जिल्लामा उत्पादित तरकारीले उपभोक्ताको मागलाई पूर्ति गर्न सम्भव नभएपछि भारतबाट तरकारी आयातमा निरन्तर वृद्धि भइरहेको हो । सो नाकाबाहेक झापामा भारतको गलगलिया भएर भद्रपुर, चन्द्रगढी भित्रिनुका साथै टाघनडुब्बालगायत सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा तरकारी भित्रिने गरिन्छ । पूर्वी नाका काँकरभिट्टामा मात्र प्लान्ट क्वारेन्टाइनको कार्यालय रहेकाले सोबाहेकका ठाउँबाट भित्रिएका तरकारीको तथ्याङ्क सङ्कलन हुन सकेको छैन् । गत आर्थिक वर्षमा भारतबाट रु २० करोड ८१ लाख ३६ हजार मूल्य बराबरका विभिन्न जातका नौ हजार २०७ मेट्रिक टन तरकारी आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक बुदुर झाले जानकारी गराउनुभएको छ ।

        चालु आर्थिक वर्षको फागुन महिनासम्ममा रु १२ करोड ५५ लाख ९७ हजार मूल्य बराबरको आठ हजार ८४५ मेट्रिक टन तरकारी आयात भएको छ । तुलनात्मक रूपमा करिब रु आठ करोडको तरकारी कम आयात भएको देखिन्छ भने परिमाणको आधारमा गत वर्षको तुलनामा चालु आवको नौ महिनामा सोही हाराहारीमा तरकारी आयात भएका छन् । गत वर्ष भारतबाट रु ३१ लाख ६० हजार मूल्य बराबरको ३१६ मेट्रिक टन काउली आयात भएकामा चालु आवको फागुन महिनासम्ममा रु ११ लाख ४० हजार मूल्य बराबरको ११४ मेट्रिक टन आयात भएको हो । सोही अवधिमा रु ४६ लाख २० हजार मूल्य बराबरको ४४६ मेट्रिक टन करेला आयात भएकामा अहिलेसम्ममा रु ५० लाख मूल्य बराबरको ४९६ मेट्रिक टन करेला आयात भइसकेको छ । यसका साथै, सोही अवधिमा रु १७ करोड ६८ लाख २५ हजार मूल्य बराबरको प्याज आयात भएकामा अहिलेसम्ममा रु पाँच करोड ६० लाख १७ हजार मूल्य बराबरको एक हजार ७४९ मेट्रिक टन आयात भएको छ ।

        तुलनात्मक रूपमा प्याजको आयातमा निकै कमी भए पनि गोलभेँडा र हरियो खुर्सानीकोे आयातमा करिब चार गुणाले बढेको छ । रु ५१ लाख ४० हजार मूल्य बराबरको ६५५ मेट्रिक टन गोलभँेडा आयात भएकोमा चालु आवको फागुनसम्ममा रु दुई करोड ३५ लाख ८५ हजार मूल्य बराबरको दुई हजार ३३४ मेट्रिक टन आयात भइसकेको छ । गत आवमा रु ४८ लाख ८५ हजार मूल्य बराबरका ४९५ मेट्रिक टन हरियो खुर्सानी आयात भएकामा गत फागुनसम्ममा रु सात करोड ५५ लाख ४० हजार मूल्य बराबरको एक हजार ७४९ आयात भएको देखिन्छ ।  गत आवमा रु ५५ लाख १५ हजार मूल्य बराबरको ५५१ मेट्रिक टन काँक्रा आयात भएकामा गत फागुनसम्ममा रु ८३ लाख ४५ हजार मूल्य बराबरको ८३० मेट्रिक टन आयात भएको हो । सोहीअनुरूप, सिमीको आयातमा पनि बढोत्तरी भएको छ । रु ४४ लाख ४५ हजार मूल्य बराबरको ४८० मेट्रिक टन सिमी आयात भएकामा गत फागुनसम्ममा रु ८१ लाख ४० हजार मूल्य बराबरको ८०९ मेट्रिक टन आयात भएको हो ।

        यसका साथै, मूला, इस्कुस,रामतोरियाँ, घिरौँला, परवल, बन्दा काउली, भण्टा, बोडीलगायतका तरकारीहरू पनि आयात भएका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्अनुसार झापाको करिब आठ हजार हेक्टर जग्गाबाट एक लाख ३६५ मेट्रिक टन विभिन्न जातका तरकारी उत्पादन हुने गर्दछ । सोअनुरूप, गत आवको तथ्याङ्अनुसार, करिब चार हजार हेक्टर जग्गामा हिउँदे तरकारीखेतीबाट ६४ हजार २६० मेट्रिक टन, तीन हजार २३० हेक्टर जग्गामा बर्खे तरकारीखेतीबाट ५० हजार ६५ मेट्रिक टन र ८०० हेक्टर जग्गामा बेमौसमी तरकारीखेतीबाट १३ हजार ४० मेट्रिक टन उत्पादन भएको थियो ।

झापा जिल्लामा उत्पादित तरकारीले उपभोक्ताको मागलाई पूर्ति गर्न नसकेपछि तरकारीका लागि भारतमाथि निर्भरता बढ्दै गइरहेको छ ।

प्रकाशित मिति: सोमवार, चैत्र १७, २०७०