आइतवार, जेष्ठ ६, २०८१

अत्याधुनिक डेरी उद्योग सञ्चालन

तुलसीपुर, २३ माघ । दाङको लमहीमा अत्याधुनिक डेरी उद्योग सञ्चालनमा आएको छ । उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्था लमही दाङ र जिआइजेडको संयुक्त आर्थिक लगानीमा डेरी उद्योग सञ्चालनमा आएको संस्थाका अध्यक्ष माधवप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगले अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिएको दूध बिक्री वितरण गर्नेछ । त्यसैगरी उद्योगले दूधजन्य पदार्थहरू दही, आइसक्रिम कुराउने, छुर्पी र घ्यू पनि बिक्री वितरण गर्ने लक्ष्य लिएको छ । संस्थाको रु एक करोड ३१ लाख ५६ हजार र जिआइजेडको रु एक करोड १० लाख गरी कुल रु दुई करोड ४१ लाख ५६ हजारको लागतमा निर्माण गरिएको सो उद्योगमा हाल १२ जनाले रोजगारी पाएका छन् । उद्योगले हाल दैनिक तीन हजार दूध प्रशोधन गर्ने लक्ष्य रहेको जनाएको छ । दूध सङ्कलनका लागि लमही क्षेत्रका सात गाविसका ७८७ जना कृषकलाई व्यावसायिकरूपमा यसअघि नै तालिमसमेत दिइसकेको छ । त्यहाँका कृषकहरू अहिले उन्नत जातका गाई तथा भँैसीपालनमा लागिसकेका छन् । दूध सङ्कलनका लागि पाँच स्थानमा चिस्यान केन्द्र पनि राखिएको छ ।

प्रकाशित मिति: बिहिबार, माघ २३, २०७०