शनिबार, जेष्ठ १२, २०८१

राज्य सचेत नहुने हो भने कृषि उत्पादनमा अझ गिरावट आउने छ

b.l

–विष्णुलाल श्रेष्ठ

नेपाल कृषि प्रधान देश हो भनेर नाक फुलाउने जमाना गयो । मेरा यति ओटा परालका टौवा छन्, यति वटा धानका कुनिउँ हुन्छन्, यति हल गोरु छन्, त्यसैले म यो फेटको धनीमानी व्यक्ति हुँ भनेर हुँकार गर्ने जमान पनि गयो । पाखो बारी भए स्वाँहारा र खेत भए वोल्लो किनारदेखि पल्लो किनारसम्मको ठूलो फाँट मेरै हो भन्नेहरु पनि थिए । अब त्यो युग र जमाना रहेन । समय र परिस्थितिले मुलुक कहाँबाट कहाँ पुगिसक्यो । काम गर्न दुख भए पनि किसानी गर्नुमा जत्तिको आनन्द अरु कुनैमा सायदै पाउन सकन्थ्यिो । दिनभर खेतबारीमा पसिना बगायो, साँझपख उकालो चढेर घर पुग्यो । खाना खाएर अगेना वरिपरि बस्दा घरमुलीले भोलिपल्टका लागि अह्राएपह्राएका काममा सवै सदस्यले ध्यान दिएर सुन्ने गर्थे । गरिवकै झुपडि भए पनि रातभरको मिठो निद्राले सुखानुभूति दिन्थ्यो । त्यो शान्ति, आनन्द र सुख अबको यो जमानामा कहाँ छ ?
कुनै जमाना यस्तो पनि थियो जतिखेर खेतका फाँट, धानका कुनिउँ, परालका टौवा र गोठभरिका गाईवस्तु हेरेर आफ्ना छोरी दिन्थे । असार पन्ध्रमा रोपाइँ बाजाका साथ धान रोप्ने काम सम्पन्न गरिन्थे । जमिन हुनेहरुले आफ्नो रवाफ देखाउने त्यही जमिन नै थियो । कसका गोठमा कति हल गोरु छन्, धानको भकारी कत्रो छ, बारीका पाटा कति ठूला छन्, लैनो भैंसी कतिवटा छन्, गाइभैंसीका गोठ कत्रा छन् आदि इत्यादि हेरेर धनी र गरिब छुट्याउने प्रचलन पनि थियो । दुहुनो भैंसी नभएका घरमा विहे गरिदिन बाबु आमा मान्दैनथे । पहाडमा भए विर्तावाल र तराईमा भए मौजावालको अर्कै धाक धक्कु र फूर्तिफार्ति हुने गथ्र्यो ।
शतप्रति नेपाली जनता कृषि पेशामा आश्रित थिए । परदेश लाग्ने चलन कम थियो । बन्द व्यापारको काम पनि त्यत्ति हुँदैनथ्यो । नेवार वस्तीका मानिस कपासको खेत िगरेर घरबुना बुन्ने काम गर्थे । तिनै घरबुना गाउँगाउँमा लगेर बेच्ने चलन थियो । त्यसबाहेक अन्य व्यापार व्यवसाय शुन्य जस्तै थियो । आफूसँग भएका अन्नको सट्टा अन्य अन्नसँग साँटने गरिन्थ्यो । कतिपय दुर्गम गाउँहरुमा अझै पनि अन्न साट्ने प्रचलन छ । मास र मस्याङ्सँग गहत साँट्ने, आलु सँग पिँडालु साँट्ने आदि चलन अद्यापि छ । गाउँघर समाजमा बस्दा यो बडो रमाइलो चलनचल्ति थियो । यसरी एकअर्कासँग अन्न साँट्दा छरछिमेकमा राम्रो सम्बन्ध पनि कायम हुन्थ्यो । हिजो आजको जस्तो बजार गएर किन्नु पर्ने पनि थिएन ।
जमाना बदलिँदै गयो । विश्वसँग नेपालको परिचय र हिमचिम पनि बढ्दै गयो । लाहुर जानेहरुको जमात पनि बढ्दै गयो । बेलायतको आर्मिमा भर्ति हुन नौतुना जाने कुराले मानिसलाई रोमाञ्चित बनाउँथ्यो । पछि भारतीय सैनिकमा हजारौं नेपाली भर्ति हुन गए । अहिलेको पाकिस्तानको लाहोर उतिबेला विदेशमा जागिर खान जाने लाहुर बनेको थियो । भारत र पाकिस्तान अलग भएको अवस्था थिएन । त्यही लाहौर अपभ्रंश हुँदै लाहुर बनेको थियो । उही लाहुर गएको छोरो लाहुरे भएर फर्कन्थ्यो । उसको शान सौकात बेग्लै हुन्थ्यो । नेपालमा विस्तारै बन्द व्यापारको हावा पनि भित्रिन थाल्यो । पूरै नेपाली जनता कृषिमा आश्रित रहेकोमा अन्य पेशामा संलग्न हुँदै गएपछि यो प्रतिशत ९५मा झ¥यो । धेरै वर्षसम्म नेपालका ९५ प्रतिशत जनता कृषि पेशामा छन् भनिन्थ्यो । जनसंख्या थोरै थियो । सवै नेपालीलाई मनग्य खान पुग्थ्यो । हिमाली र पहाडी भेकमा बस्ने केही दुर्गम ठाउँका जनता अन्न बेसाउन मध्य पहाडि भेक वा तराई झर्ने गर्थे । अन्यलाई खान मजासँग पुग्थ्यो । विदेशबाट अन्न आयात गरिहाल्नु पर्ने स्थिति थिएन । पहाड र हिमाली जिल्लाहरुमा कैले कहिँ अनिकाल र भुखमरी हुँदा तराइबाट अन्न आयात गरेर गर्जो टार्ने गरिन्थ्यो ।
त्यो ९५ प्रतिशत अहिले ८३ प्रतिशतमा झरेको छ । नेपालका ८३ प्रतिशत जनताको मूल आयश्रोत भनेको अझै पनि कृषि नै रहेको छ । कृषिमा पनि विविधता आएको छ । व्यावसायिक कृषि प्रणाली भित्रिएको धेरै भएको छैन । कृषि मध्ये तरकारी खेतीमा सवैभन्दा बढी व्यावसायिकता देखिन्छ अहिले । नयाँ र नौलो तरिकाले तरकारी खेती गरिएको पाइन्छ । तरकारीका अनेक प्रकारहरु छन् । माछा पालन पनि बढ्दो छ । कुखुर पालन, बंगुर पालन, भैंसी, गाइपालन आदि इत्यादि खालका धेरै व्यावसायिक कामहरु भएका छन् कृषिमा ।
तर एउटा उदेक लाग्दो र विडम्बनाको खबर तथ्यांक विभागले प्रकाशनमा ल्याएको छ । नेपालका ६० प्रतिशत भन्दा बढी जनतालाई आफ्नो उत्पादनले खान पनि पुग्दैन । आफैंले उत्पादन गरेको अन्नले झण्डै वर्षैभरि खान नपुग्ने जनता १५ प्रतिशतको हाराहारीमा छ । ७ महिाना नपुग्ने २३, आधा वर्ष नपुग्ने ४४ प्रतिशत छन् भने १८ प्रतिशभन्दा बढीलाई तीन महिना खान पुग्दैन । खेतीयोग्य जमिन पनि घट्दो छ । पहाडी भेगदेखि उपत्यका हुँदै तराईका सम्म मैदानमा उर्वरा खेतीको साटो कंक्रिटका गगनचुम्बी महल ठडिदै छन् । मानिसको बस्ती बढ्दो छ । जमिन उही हो, कल कारखाना, उद्योग धन्दा, भवन, कार्यालय निर्माणका कारण एकातिर खेतीयोग्य जमिनको क्षेत्रफल न्यून हुँदै गएको छ भने अर्कोतिर प्रदुषण, विषाक्त रसायनिक मलका कारण उत्पादन घटने क्रम पनि त्यस्तै छ । यस्तो अवस्थामा खासगरी कृषिमा आश्रित परिवारका लागि खान नपुग्नु स्वाभाविक पनि हो ।
कृषि गणनामा नकारात्मक परिणाम आउनुमा सरकार पनि उत्तिकै जिम्मेवार छ । सरकारले किसानको हितमा त्यत्ति धेरै उत्साहजनक काम गरेको छैन । कृषिमा उत्पादनमूलक क्रान्ति नल्याइकन उब्जनी बढ्दैन । उब्जनी बढाउनका लागि उन्नत मल, बीउ, विजन, आधुनिक खेती प्रणाली, योजना, नवीनतम सोच, अवधारणा आवश्यक हुन्छ । सरकार कृषिमा आउने सकारात्मक दुरगामी प्रभावका लागि असफल भएको छ । हाम्रो जस्तो उर्वरा शक्ति भएको जमिनमा योजनावद्ध ढंगले खेती गर्ने र किसानलाई उचित सहयोग गर्ने हो भने आजको जस्तो नकारात्मक परिणाम आउने थिएन । सरकार सचेत नहुने हो र किसानहरु जागरुक नहुने हो भने आगामी दिनमा कृषि उत्पादनमा अरु गिरावट नआउला भन्न सकिन्न । अझै पनि राज्यले कृषि र किसानको लागि कृषि क्रान्तिका योजना, विचार, अवधारणा र विहङ्गम दृष्टि दिने हो भने केही वर्षभित्र कृषि क्षेत्रले राम्रो फड्को मार्नेमा शंका गर्नुपर्दैन । ०

प्रकाशित मिति: शनिबार, पुस २०, २०७०