शनिबार, बैशाख १५, २०८१

कृषि विकास मन्त्रालयको सरुवामा बवण्डर

काठमाडौं, असोज । कृषि विकास मन्त्रालयको कर्मचारी सरुवामा बवण्डर भएको छ । निर्वाचन आयोगले सरुवा नगर्न भन्दा भन्दै पनि मन्त्रालयका कर्मचारीहरु सरुवा भईरहेका छन् । कृषि विकास मन्त्रालयमा यतिखेर सरुवाको लिष्ट हेर्ने हो भने सरुवाका लागि अवधि नपुगेका व्यक्तिहरुको समेत गरिएको छ । निर्वाचन आयोगले आचार संहिता लगाएको भएपनि अति आवश्यक अवस्थामा बाहेक अन्य अवस्थामा सरुवा नगर्न आग्रह गरेको छ । तर कृषि विकास मन्त्रालयले त्यस्तो आग्रहलाई टेरेको छैन । निर्वाचन आयोगसँग सरुवाका लागि स्वीकृत लिन सेटिङ्ग नै मिलाउने काम गरिएको छ । ministry-of-agriculture
निर्वाचन आयोगमा रहेका उच्च अधिकारीहरुले पनि सेटिङ्गकै आधारमा सरुवाको लागि स्वीकृत दिएको देखिन्छ । जसले गर्दा कृषि विकास मन्त्रालय केही उच्च अधिकारी, मन्त्री सचिवालय सरुवाका नाममा दशैं खर्च जुटाउने काममा व्यस्त भएको आरोप पनि लागिरहेको छ । हुन पनि प्राविधिक मन्त्रालयका रुपमा रहेको कृषि विकास मन्त्रालयमा विभिन्न समूहका कर्मचारीहरु छन् । उनीहरुलाई सरुवा गर्नका लागि सोही सेवा र समूह भित्र मात्र गर्नु पर्ने भएको भएपनि त्यसो नभई एक समूहका व्यक्तिलाई अर्को समूमा सरुवा गरिएको छ । अझ विभिन्न परियोजनाहरुमा काज सरुवा गर्ने काममा पनि भद्रगोल किसिमले गरिएको कर्मचारीहरुले प्रशासनलाई आरोप लगाएका छन् । प्रशासनले सेवा समूहको पूर्ण रुपमा वेवास्ता गर्दै सरुवा गरेकाले सो कार्यले कृषि क्षेत्र ध्वस्त भईरहेको बताईरहेका छन् । सरुवा गर्ने नाममा अहिले जिल्ला कृषि विकास कार्यालय नरहने भन्दै जिल्ला कृषि विकास कार्यालय प्रमुखहरुलाई पनि जथाभावी रुपमा सरुवा गरिएको छ ।
स्थानीय तहका कर्मचारी खटाउने नाममा मनपरी ढंगले कर्मचारी काजमा पठाइएका कारण स्थानीय तहका सरुवा भएर गएका कर्मचारीहरुले खासै काम गरेको देखिंदैन । स्थानीय तहमा कृषिका कर्मचारीहरुले बस्ने ठाउँ समेत नपाईरहेको गुनासो गरिरहेको भएपनि पहिलो चौमासिक सकिन लाग्दा पनि कुनै पनि काम हुन सकिरहेको छैन । सरुवामा पूर्ण रुपमा राजनीजिक आस्थाका आधारमा कसैलाई काखा र कसैलाई पाखा गरिएको कर्मचारीहरुको गुनासो छ । स्थानीय तहका सरुवा भएर जाने कर्मचारीहरुलाई सहजताका लागि सल्लाह गरेर पायक पर्ने स्थानमा सरुवा गर्ने भनिएपनि त्यसो भएको छैन । त्यसैका कारण पनि कृषि मन्त्रालयको सरुवामा बबण्डर मच्चिएको छ ।
सरुवामा बबण्डर मच्चिएको छ तर कृषि मन्त्री रामकृष्ण यादव सरुवामा राजनीतिक आस्थाका आधारमा पूर्वाग्रही ढंगले सरुवा नभएको बताउंछन् । यो पटकको सरुवा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत भए बमोजिम नै अन्य दल निकट कर्मचारीहरुलाई पारदर्शि ढंगले गरिएको मन्त्री बताउंछन् । पारदशिं ढंगले सरुवा गरिएको मन्त्रीको भनाईलाई सरुवा भईरहेका कर्मचारीहरु पूर्ण रुपमा गलत भएको बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, अशोज २०, २०७४