बिहिबार, बैशाख २०, २०८१

कृषि बढी श्रममा आधारित पेशा हो

bijay-giri

विजय कुमार गिरी
वरिष्ठ कृषि विकास अधिकृत
जिल्ला कृषि विकास कार्यालय सुर्खेत

० सुर्खेत जिल्लामा कृषि उत्पादकत्व बृद्धि भईरहेको छ भन्छन् नि ?
सुर्खेत जिल्ला भौगोलिक बिबिधता भएको कारण बिबिध प्रकारका कृषि उत्पादनको राम्रो सम्भाब्यता भएको जिल्ला हो । यस जिल्लाका प्रमुख उत्पादन हुने वालीहरुमा अदुवा,बेसार,तरकारी, तरकारी वीउ, खाद्यान्न वालीहरुको वीउ उत्पादन बिशेष गरी मकै वीउ, फलफूल तर्फ आप तथा सुन्तलाजात फलफूल तथा मह र च्याउ वालीहरु प्रमुख रहेका छन । यस जिल्लामा उक्त वालीहरु ब्याबसायिक रुपमा उत्पादन भै जिल्ला भन्दा बाहिर निकासी भैरहेका छन साथै बिगतको समयमा भारत तथा बाहिरी देशमा गई रोजगारी गर्नेहरुलाई पनि आफ्नो स्थानमै रोजगारी प्रदान गरेको छ ।

० मुख्यत ः कुन कुन बस्तु र बालीमा उत्पादकत्व बृद्धि भईरहेको देखिन्छ ?
यस जिल्लामा धेरै प्रकारका वालीहरुको उत्पादन हुने भएपनि अलि ब्याबसायिक रुपमा उत्पादन हुने वालीहरु सिमित रहेका छन । जिल्लामा तरकारीमा बिशेष गरी बर्षे टमाटर , अदुवा बेसार, बर्षे आलु , आप, मकै वालीको वीउ , मह , च्याउ आदि वालीको उत्पादन बृद्धि भैरहेको छ ।
० मन्त्रालय जिल्लालाई पकेट क्षेत्र घोषणा पनि गरेको छ, सुर्खेत जिल्लालाई तोकेको पकेट क्षेत्रलाई हेर्नेहो भने कुन बालीमा आत्मनिर्भर बन्न सकिएला ?
यस जिल्लामा धेरै वालीहरुको उत्पादनको सम्भाब्यता भएतापनि तरकारी वाली त्यसमा पनि बर्षे टमाटर, मकै वीउ उत्पादन, तरकारी वीउ उत्पादन, मह, च्याउ, फलफूल (आप), अदुवा र बेसार आदिको पकेट क्षेत्र घोषणा गरी बिशेष कार्यक्रम संचालन गरिएको छ । सुर्खेत जिल्लालाई कृषिमा आत्म निर्भर बनाउनकोलागी जिल्लाको उत्तरीे पहाडी भेगमा बर्षे तरकारीहरु, अदुवा रबेसार खेती ब्यापक रुपमा गर्नु पर्दछ भने भेरी नदिका किनारका क्षेत्रहरुमा खाद्यान्न वाली, फलफूल (आप)को खेती गर्नु पर्दछ । जिल्लाको सदरमुकाम वीरेन्द्रनगर तथा भेरीगंगा न.पा क्षेत्रमा तरकारी वाली, आलु, च्याउ खेती गर्नु पर्दछ ।
० तर कागजमा जति कुरा हुन्छ व्यवहारमा चाहि हुँदैन भन्छन् नि त ?
हैन , केही नभएर त कागजमा कसरी राख्न सकिन्छ र , झन हाम्रो सरकारी निकाय त काम गरे जति पनि कागजमा लेख्न सकेका छैनौ । योजनाको सन्दर्भमा जहिलेपनि योजना आशावादी र सामान्य अबस्थामा गर्न सकिने भन्दा एक तह अगाडीको उपलब्धी हासिल गर्ने लक्ष्य राखिएको हुन्छ त्यसमा भने केही फरक अवश्य पनि हुन्छ त्यो सामान्य नै हो ।
० मन्त्रालयले पकेट क्षेत्र, जोन सुपर जोन निर्धारण गर्दा पनि तल्लोतहमा नबुझि गरेकाले सफल हुँदैन भन्छन् त ?
अवश्यपनि कुनै पनि कार्यक्रम सन्चालन गर्न भन्दा पहिला अवस्थाको राम्रो पहिचान गर्नु पर्दछ , अन्यथा पछि गरिने सबै कृयाकलापहरु असफल हुने हुन्छ । कार्यक्रम राम्रो वा नराम्रो भन्ने कुरा स्थान बिशेषमा भर पर्ने हुदा सर्बप्रथम स्थान छनौटमा धेरै ध्यान दिनु पर्दछ अन्यथा हतारमा गल्ती गरेर फुर्सदमा पछुताउने काम हुन्छ । त्यसैगरी माथिल्लो निकायबाट बिशेष पकेट क्षेत्र घोषणा गर्दा अवश्य पनि तल्लो निकायमा त्यसमा पनि अझ स्थानिय निकायहरुको सुझाब तथा प्रतिबद्धता समेत लिई घोषणा गर्नु पर्दछ । त्यसै अनुरुप हाम्रो सुर्खेत जिल्लामा चालु आ ब देखी संचालन हुने प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजनामा तिनै पक्षहरुलाई समेटी जिल्लाको माग अनुदासार अदुवा वाली लाई जोन स्तरको तथा मकै वीउ उत्पादनलाई ब्लक र तरकारी उत्पादनलाई पकेट स्तरको कार्यक्रम संचालनको लागी प्रस्ताब गरिएको छ ।
० भौगोलिक तथा वातावरणका हिसावले कुन कुन बालीमा महत्व सरकारले दियो भने आत्मनिर्भर बन्न सकिएला त ?
यो त जिल्लाको अवस्था अनुसार तुलानात्मक लाभ लागतको आधारमा निर्धारण गर्नु पर्ने हुन्छ हाम्रो सुर्खेत जिल्लामा धेरै वालीको उत्पादनको सम्भाब्यता रहेतापनि ब्याबसायिक रुपमा तरकारी (बर्षे टमाटर), आलु (हिउदे तथा बर्षे ) अदुवा, आप, वीउ उत्पादन (तरकारी र खाद्यान्न ) र मह सबै क्षेत्रमा खेती गर्न सकिन्छ साथै शहरी क्षेत्रमा च्याउ को उत्पादनलाई बढी महत्व दिनु पर्छ ।
० जिल्लामा कृषिमा काम गर्ने धेरै एनजिओ तथा सरकारी आयोजनाहरु पनि छन् तर तिनीहरुले कृषि कार्यालयसँग समन्वय गर्दैनन् भन्ने सुनिन्छ नि ?
यसमा मिश्रित प्रकार को अवस्था रहेको छ । कृषि क्षेत्रमा काम गर्ने एनजिओहरुको पनि स्तर धेरै छन । केही अन्तराष्ट्रिय स्तरका आईएनजिओ हरुको प्रत्यक्ष सुपरिबेक्षणमा संचालित एनजिओहरु संग भन्दा अप्रत्यक्ष दातृ निकायबाट संचालित एनजिओहरु संगको समन्वय तुलनात्मकरुपमा राम्रो रहेको छ । यस्ता निकायहरुको समन्वयमा केही कार्यक्रमहरु साझेदारी रुपमा संचालन पनि गरिएको छ भने केही एनजिओ संग समन्वयको रुपमा आयोजना अवधीभर १, २ पटक समन्वय बैठकमा सिमित रहेको छन ।
० समन्वय गरेका छन् भने कसरी गरिरहेका छन् छैन भने किन हुन नसकिरहेको हो ?
जिल्लामा कृषि क्षेत्रमा कार्य गर्ने एनजिओ र सरकारी निकाय बिच समन्वको लागी एक कृषि एलाएन्स स्थापना गरी नियमित रुपमा बैठक बसी आ आफ्नो निकायको कार्यक्रम बारे जानकारी गराई साझेदारीरुपमा कार्यक्रमहरु संचालन गर्न सकिएको छ । बिशेष गरी साना सिंचाई, तरकारी उत्पादनका तालिम तथा वीउ बितरण, घम्तीशिबिरहरु, बिभिन्न दिवस कार्यक्रम (धान दिवस, खाद्य दिवस) तथा कृषि मेला प्रदर्शनी आदि कार्यक्रममा समन्वयात्मक रुपमा कार्य सन्चालन भै रहेको छ । समन्वय कमी भएका संस्थाहरुलार्ई पनि कृषि एलाईन्समा ल्याउने प्रयास गरिएको छ तर उनीहरु समन्वयलाई नियन्त्रण हो की भन्ने बुझाई छ, जे होस समन्वयमा रही कार्य गर्ने एनजिओहरुको संख्या क्रमश बढी रहेको छ ।
० सुर्खेतमा विदेश निर्यात गर्ने उच्च मूल्यका कृषि बस्तु पनि उत्पादन भईरहेका छन् कस्तो छ अवस्था ?
यस जिल्लाबाट बिशेषगरी बिदेश निर्यात हुने भनेको अदुवा वाली रहेको छ । यस जिल्लामा अर्गानिक माउण्ट फ्लेभर कंम्पनीले सुकाएको अदुवा भारत हुदै युरोपियएन बजारमा निर्यात गर्दछ । गत आ ब मा मात्र त्यस संस्थाले २०० मे.टन सुक्खा अदुवा भारत हुदै नेदरल्याण्डमा पुराएको थियो भने अझै माग बढीरहेको छ त्यसैगरी अन्य वालीहरुमा बेमौसमी तरकारीहरु, तरकारीको वीउ, खाद्यान्नवालीको वीउ,मह, च्याउ हरु छिमेकी जिल्लाको साथै देशका प्रमुख शहरहरु (बुटवल, धनगढी, महेन्द्रनगर)मा निर्यात भएको छ ।
० जिल्लाको कृषि क्षेत्रको प्रचुर विकासका लागि समस्या कहाँ छ ?
सुर्खेत जिल्लामा सिंचाई तथा ग्रामिण क्षेत्रमा उत्पादन पकेट क्षेत्र संग सडकको प्रमुख समस्या रहेको छ भने जिल्लामा कोल्ड स्टोरेज नहुदा आलु तथा केही फलफूल, तरकारी लाई लामो समय सम्म भण्डारण गर्न कठिनाई भैरहेको छ ।
० सरकारले के के कुरामा सहयोग ग¥यो भने कृषिमा फड्को मार्न सकिएला त ?
सुर्खेत जिल्लामा करिब ७० प्रतिशत भू भागमा अभै पनि आकासे पानीको भरमा खेती गर्नु पर्ने समस्या भएको हुदा सिंचाई को लागी सहयोग गर्नु पर्दछ त्यसै गरी यस जिल्लामा कोल्ड स्टोरेजको अभावको कारण बर्षेनी सयौ मे.टन वीउ आलु बाके,कोहलपुरमा भण्डारण गर्न लैजानु पर्ने र पुन सिजनमा उक्त आलु सुर्खेतमा ल्याउन कृषकहरुलाई समस्या रहेको कारण ःगतिष् अजबmदभच कोल्डस्टोरेज निर्माण तर्फ जोड दिनु पर्ने छ साथै उत्पादन पकेट क्षेत्रलाई मुख्य सडक संग जोडनु पर्दछ । त्यसै गरी कृषि प्राबिधिक सेवाको लागी दुर्गम गाबिसहरुमा कठिनाई भएको हुदा एक गाउ एक प्राबिधिक कार्यक्रमलाई अझ ब्यापक रुपमा लैजानु पर्ने हुन्छ । कृषि यान्त्रीकरणको प्रयोगबाट युवा पुस्ताहरुलाई कृषि क्षेत्रमा सहभागी गराउने खालका कार्यक्रम ल्याउनु पर्ने हुन्छ । लक्षितबर्गका कृषकहरुलाई बिशेष अनुदान तथा ब्याबसायिक कृषकलाई अनुदानमा भन्दा पनि ठुलो क्रृण लगानीको ब्याज छुटमा अनुदान दिनु पर्दछ । साथै अनुदान दिदा उत्पादनकोमात्रा लाई आधार मानि दिनु पर्दछ ।
० युवा पुस्ताका किसानहरु कृषि प्रतिको आकर्षण बाहिर हल्ला भएजति छैन भन्छन् नि ?
कृषि पेशा अन्य पेशा भन्दा बढी श्रममा आधारित पेशा हो । यसमा प्रबिधिमात्र नभएर प्रकृतिमा पनि केही हदसम्म भर पर्र्ने भएको हुदा जोखिम बढी छ । युवाहरुलाई नतिजा छिटो चाहिने भएरपनि होला केही युवाहरुमा कृषि क्षेत्रको आकर्षण कमी भएको मैले पनि महशुस गरेको छु तर केही युवाहरु ठुलो लगानीका साथ लागी रहेका छन । सुर्खेत जिल्लामा पनि केही बैदेशिक रोजगारीबाट फिर्ता भएकायुवाहरु ब्याबसायिक रुपमा तरकारी, च्याउ, मौरी पालनमा लागेर राम्रो आम्दानी लिन सफल भएका छन साथै युवाहरु कृषिमा लाग्ने क्रम पनि बढदो रहेको छ ।
० अन्त्यमा के भन्नु हुन्छ ?
कृषिको सेवा प्रवाहको मुख्य केन्द्र जिल्ला कृषि बिकास कार्यालय तथा कृषि सेवा केन्द्रहरुनै भएकोले उपयुक्त भौतिक पुर्वाधार सहित दक्ष जनशक्तिले पुर्ण गराईनु पर्दछ, फिल्डमा काम गर्ने कर्मचारीको मनोवल बढने खालका कार्यक्रम लागु गर्नु पर्दछ साथै जिल्लाको आवश्यकता अनुसार माटो,वाली संरक्षण तथा वीउ बिजनको मिनिल्याब स्थापना गरी गुणस्तरिय तथा भरपर्दो सेवा प्रदान गर्ने तर्फ जोड दिनु पर्दछ । कार्याक्रम संचालन गर्दा मुल्य श्रृखलामा आधारित भएर प्याकेजमा अनुदान तथा प्राबिधिक सेवा उपलब्ध गराउनु का साथै जग्गा नभएका युवाहरुलाई खेती गर्नको लागी सरकारी निकायको समन्वयमा जग्गा भाडामा उपलब्ध गराई करार खेती लाई जोड दिनु पर्दछ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, अशोज १०, २०७३