शनिबार, बैशाख १५, २०८१

उखु किसानले भुक्तानी पाएनन्, किसानका पक्षमा कसले बोल्ने ?

रौतहट, कार्तिक । रौतहट जिल्लाको एकमात्र ठूलो उद्योगका रुपमा रहेको गरुडास्थित श्रीराम सुगर मिलले दिपावली र छठमा पनि उखु बापतको भुक्तानी नदिँदा यहाँका किसान आक्रोशित भएका छन् । पटक पटक भुक्तानीको भाखा सार्दै आएका उद्योगीले चाडबाडको मुखमा अनेक बहाना बनाउने र आफँैले गरेको भाखाअनुुसार भुक्तानी नदिएका कारण किसानहरू मिल प्रशासन र उद्योगीप्रति आक्रोशित बनेका हुन् ।ukhu1
तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको रोहवरमा मन्त्रालयमै तत्काल भुक्तानी दिन सुुरु गर्ने बताएका उद्योगपतिद्वय हृतेष गोल्छा र ललित अग्रवालले एक वर्ष बित्न लाग्दा पनि भुक्तानी दिन नसकेको उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए । गत वर्ष किसानले मिललाई दिएको उखु वापतको रु एक करोड, २०७२ सालको रु तीन करोड र २०७१ सालको रु १८ करोड गरी कुल २२ करोड बक्यौता रहेको अध्यक्ष यादवले जानकारी दिए ।
उद्योग मन्त्री जोशीको रोहवरमा भाखा गरेर पनि उद्योगपतिले किसानको रकम भुक्तानी नदिँदा बाध्य भएर गत वैशाखमा किसानले पटक पटक मिलमा तालाबन्दी गरे तर भुक्तानी पाउन सकेनन् । तालाबन्दीपछि उद्योगपतिले दशैंसम्म सम्पूर्ण रकम भुक्तानी गर्ने बताए पनि हालसम्म भुक्तानीको प्रक्रिया सुुरु नगरेकाले बिहीबारदेखि पुुनः श्रीराम सुगर मिलमा तालाबन्दी गर्ने अध्यक्ष यादवले बताए ।
वर्षमा एकपटक आउने लोकपर्व दीपावली र छठको मुखमा पनि उद्योगपतिले भुक्तानीको सट्टा अनेक बखेडा देखाइरहेकाले आँउदो सिजनमा श्रीराम मिललाई जिल्लाका किसानले उखु नदिने कृषक राम भरोसी यादवले चेतावनी दिए । श्रीराम सुगर मिलका महाप्रबन्धक गणेश पाण्डेले किसानको रकम भुक्तानीका लागि उद्योगपतिसँग कुुरा भइरहेको बताउँदै रकम आउनासाथ भुक्तानी सुुरु गर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्लाको व्यापारिक केन्द्र गरुडामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा २०५१ सालमा श्रीराम सुगर मिलको स्थापना भएको थियो । स्थापनापछि उद्योगपति दिवाकर गोल्छाले केही वर्षसम्म मिललाई नियमित रुपमै सञ्चालन गरेका र किसानलाई उखुबापतको रकम समेत समयमै भुक्तानी दिएका थिए । तर पछिलो एकदशकदेखि उद्योगपति र मिल प्रशासनको लापर्बाहीले उखुखेती गर्ने हजारौं किसान समस्यामा परेका छन् ।
वर्षभरीको मिहिनेत र घरको पुँजी लगाएर उब्जनी गरेको उखु मिललाई दिएर भुक्तानीका लागि वर्षौ कुुर्नुुपर्ने बाध्यताका कारण किसानहरू चिन्तित हुँदै गएका छन् ।
प्रत्येक सिजनमा २७ लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने श्रीराम मिललाई किसानले नपत्याएका कारण गत वर्षमात्र सात लाख क्विन्टल उखुको क्रसिङपछि मिल बन्द हुनपुगेको थियो । रौतहट, बारा, सर्लाहीका उखु किसानको वर्षांैदेखिको पीडालाई सरकार र स्थानीय प्रशासन कसैले पनि सम्बोधन गर्न नसकेको दुखेसो पीडित किसानको छ । -सञ्जय मिश्रा

प्रकाशित मिति: आइतवार, कार्तिक ५, २०७४