माटो र विरुवालाई पनि माया चाहिन्छ

सरकारले प्राङ्गारिक कृषि उत्पादनका जोड दिईरहेको बताएता पनि कार्यान्वयमा भने खासै आउन सकेको छैन । गत वर्ष पनि तात्कालिन कृषि विकास मन्त्रालयले लागि प्राङ्गारिक तरकारी खेती गर्ने केही मन्त्रालयका निकट र नेताका निकट मानिएका व्यक्तिलाई करोड भन्दा बढी रकम बाँढ्यो । तर प्राङ्गारिक तरकारी उत्पादन भने खासै भएको प्रगति देख्न पाईएको छैन ।
यद्यपी निजी क्षेत्रबाट प्राङ्गारिक खेती गर्नका लागि पहल भएका पनि छन् । कोही अनुदान पचाउनका लागि यस तर्फ आकर्षित भएका छन् भने कोही वास्तविक रुपमा नै प्राङ्गारिक खेतीको आवश्यक छ भन्दै आफै खेतीमा होमिएका छन् ।
प्राङ्गारिक खेतीको विकल्प छैन भन्दै लामो सयमदेखि देशभरका विभिन्न ग्रामिण भेगमा प्राङ्गारिक खेती र प्राङ्गारिक विषादी निर्माण गर्न किसानलाई सिकाउँदै आईरहेकी सक्रिय महिला हुन् कल्पना तिम्सिना ।
कृषि अध्ययन गरेर जागिरे जीवन विताउनेहरु धेरै छन् । तर तिम्सिना बढ्दै गईरहेको विषादीको प्रयोगको न्यूनिकरण गर्दै विषादी प्रयोग अन्त्य गर्ने अभियानमा जुटेको दशक नाघिसकेको छ । कहिले प्रशिक्षकको भूमिकामा त कहिले स्वयंसेवकका रुपमा धेरै जिल्लामा प्राङ्गारिक खेती गर्न महिला पुरुष सवै किसिमका किसानहरुलाई उत्साहित गर्दै आईरहेकी छिन् ।
धेरैले भन्ने गर्दछन् सिकाउन जति सजिलो छ गर्न उत्तिनै गाह्रो छ । प्राङ्गारिक खेती मुखले भने जस्तो होइन । हुन पनि त्यसमा समस्या नभएका होइनन् । समस्या छ भन्दैमा भागेर उम्कने प्रयास गर्नु हुँदैन भन्दै अहिले कल्पना तिम्सिना आफैले जग्गा भाडामा लिएर प्राङ्गारिक तरकारी खेती गर्दै अरुलाई सिकाउँदै आईरहकी छिन् ।
‘अरुलाई सिकाएर मात्र भएन आफैले नगरेसम्म विश्वासको वातावरण पनि नहुने भो’ तिम्सिनाको भनाई रहेको छ । काभ्रे जिल्लाको साँगा नजिकै १० रोपनी जग्गा भाडामा लिएर प्राङ्गारिक तरकारी खेती अभियान नै थालेकी छिन् । किन प्राङ्गारिक खेतीमा आफै संलग्न भई प्राङ्गारिक कृषि अभियानमा लागेकी वातावरण संरक्षण तथा कृषि अभियान नेपालकी अध्यक्ष समेत रहेकी कल्पना तिम्सिनासँग गरिएको कुराकानीको अंश ः
० प्राङ्गारिक कृषि खेती अभियानमा लाग्नु भएको छ नि किन ?
विशेष गरी हरेक जीवित प्राणीको वाँच्ने पाउने अधिकार छ । त्यो अधिकारलाई सुरक्षित गर्नु अहिलेको आवश्यकता हो । अहिले रासायनिक मल, रासायनिक विषादीको प्रयोगका कारण सिस्नु, बनमारा जस्तो वनस्पति लोप हुँदैगएका छन् । कतिपय हामीले नचिनेका त्यस्तो वनस्पति हराएरै गईसकेका छन् । धेरै कीराहरु लोप भएका छन् खेती बारीमा कीरा लाग्यो भनेर रासायनिक विषादीको प्रयोग गरेर हामीले कीराहरु मारिरहेका छौं । सवै कीराले खेती नष्ट हुने होइन । कीराले नै हाम्रा खेती जोगाईरहेका छन् । इको सिस्टमबाट नै पर्यावरण चलिरहेको छ भने विषादी गर्नु हुन्न । विषादीबाट कीरा मार्ने नाममा हामीले मानव स्वास्थ्यमा नै ठूलो हानी गरिरहेका छौं त्यसैले पनि रासायनिक विषादीबाट मानवमा धेरै रोगहरु समेत निम्ति सकेका कारण पनि प्राङ्गारिक खेती अभियानमा लागिरहेको छु ।
० सरकारले नै प्राङ्गारिक खेतीलाई प्राथमिकता नदिईरहेको अवस्थामा निजी क्षेत्रको प्रयास सफल होला त ?
हो सरकारले प्राथमिकता नदिएको भन्न मिल्दैन तर कार्यान्वय गर्ने काममा सरकार चुकेको छ । म आफूले एउटा नमूना गरेर देखाउन खोजेको हुँ । जहाँ मैले प्राङ्गारिक खेती गरिरहेको छु त्यस क्षेत्रमा पनि विगतमा सरकारी निकाय, गैरसरकारी निकायहरुले विभिन्न किसिमका तालिम प्रदान गर्ने गरेको पनि पाईयो तर त्यसपछिको काममा भने क्रियाशील गराउने काम भएन् । लाखौं रुपैयाँको बजेट प्राङ्गारिक खेती प्रशिक्षणका नाममा सकिएका छन् तर खै त उत्पादन ? त्यही भएका कारण मैले नमूना प्राङ्गारिक खेती गरेर देखाउँछु र अरुलाई पनि यस अभियानमा लगाउन सक्छु भन्ने भएर मेरो प्रयास जारी छ ।
० प्राङ्गारिक खेतीमा करोडौं अनुदान आईरहेको छ तर काम हुन सकिरहेको छैन, तपाइँले शुरुवात गर्नु भएको अभियानलाई पनि त्यही रुपमा हेरियो भने के हुन्छ ?
त्यसरी हेर्नु भएन । त्यही भएर पनि म आफैले खेती गरिरहेको छु । संघसंस्थाहरुले यो गर्नुस भनेर किसानलाई छाडेर जाने गर्नु भयो तर हामीले किसानलाई प्राङ्गारिक खेती गर्नुस् भनिरहेका छैनौ आफैले गरेर किसानलाई देखाएका छौं । अहिले काभ्रेमा शुरु गरिसकेका छौं भने धादिङमा पनि एक सय रोपनी जग्गामा हामीले उत्पादन गर्न लागेका छौं । विगतमा प्राङ्गारिक खेती गर भनियो त्यसको विकल्प दिईएन । तालिमको आयोजना गरेर मात्र केही पनि हुँदैन । त्यसको उपलब्धी खेतबारीमा नै किसानलाई देखाउनु पर्दछ भन्ने हो । हामी किसानहरुलाई खेतमा नै उत्पादन गरेर देखाईरहेका छौं ।
० विगतमा पनि सरकारले विषादी प्रयोग न्यूनिकरण गराउनका लागि आईपिएम प्रविधि अवलम्वन गर्न किसानहरुसम्म पुगेको र त्यसका लागि करोडौं रुपैयाँ खर्च भएको पनि देखिन्छ नि त ?
हो । अहिलेको कृषि विकास कर्मचारमुखि भएको छ । कर्मचारीले कसरी काम गर्दछन्, के खेतबारीमा नै गएर किसानलाई सिकाएका छन् त ? बोट विरुवालाई पनि माया गर्नु पर्दछ पन्जा लगाएर, बुट लगाएर खेती हुँदै माटोमा भिज्नु पर्दछ । अहिलेसम्म माटोमा नै गएर किसानहरुलाई सिकाउने कर्मचारी मैले देखेको छैन । त्यसकारण पनि सरकाले जति नै खर्च गरेपनि त्यसको उपलब्धी पाउन मुश्किल पर्दछ । सरकारी तलव किसानहरु कै लागि खाएको हो भन्ने कृषिका कर्मचारी भेटिएन । केही थोरै कर्मचारी छन् उनीहरुले मात्र गरेर केही हुँदैन । त्यसकारण पनि विगतमा भएका कार्यक्रम असफल भए, करोडौं रुपैयाँ बालुवामा पानी हाले जस्तै भयो, त्यो ध्रुव सत्य हो ।
० प्राङ्गारिक तरकारी खेती गरे पनि बजारको अभाव छ उत्पादन लागत नै आउँदैन भन्छन् त ?
वास्तविकमा नै प्राङ्गारिक तरकार खेती गरिएको हो भने त्यसले लागत पाएन भन्ने कुरा छैन । हामीले आफैले उत्पादन गरेर लागत मूल्य उठाउन सकेका छौं । प्राङ्गारिक खेती गर्दा कति लागत लाग्यो भन्ने कुरा अहिलेसम्म निकालिएको छैन । सवैभन्दा पहिलो आर्थिक हिसाव निकाल्नु प¥यो । अनि मात्र लागत मूल्य पाए नपाएको भन्ने कुरा हुन्छ । सँधै मूल्य उच्च हुँदैन । हामीले आपूmले गरेको कृषि खेतीको लागत मूल्य निकालेर हेर्ने हो भने फाइदा नहुने र लागत मूल्य नपाउने अनि बजार नपाउने भन्ने कुरा छैन । अहिले त झन् आमउपभोक्ताहरु आफ्नो स्वास्थ्य प्रति सजग हुनुहुन्छ । जसले गर्दा प्राङ्गारिक उत्पादनको माग त निकै नै बढ्दो छ । बजार आफैले बनाउने हो सरकारले बनाइदेला भन्ने हो भने समस्या आउँछ ।
० समस्या के हो त ?
समस्या भनेको नै सरकार, कृषि विकास मन्त्रालय हो । अहिलेका नेता र कर्मचारीतन्त्रबाट प्राङ्गारिक खेतीको प्रवद्र्धन होला भन्ने आशा गर्नु नै वेकार छ । यदि राज्यले साँच्नै नै प्राङ्गारिक खेतीलाई अघि बढाउने हो भने अहिलेको जस्तो कागज बनाएर अनुदान होइन उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्नु पर्दछ । प्राङ्गारिक खेती गर्ने किसानहरुलाई राज्यले सकारात्मक दृष्टिले हेर्न नै सकेको छैन । त्यो नै दूर्भाग्य हो ।