दानामा एण्टिवायोटिक मिसाउनेलाई कार्वाही हुन्छ

पछिल्लो समयमा पोल्ट्री व्यवसायमा नकारात्मक कुराहरु बढ्दै गएका छन् । विशेष गरी कुखुरा पालन गर्ने किसानहरु त्यसको प्रत्यक्ष मारमा परेको पनि सुनिन्छ । दानामा एण्टिवायोटिक मिसावट गर्नेदेखि वर्डफ्लु रोग लुकाउने सम्मका कुरा चर्चा र वहशको विषय बनेको छ । यसै सन्दर्भमा पशु सेवा विभाग महानिर्देशक डा. वंशी शर्मासँग वैकुण्ठ भण्डारीले गरेको कुराकानीको अंश :

० वर्डफ्लुको आतंक फेरि शुरु भयो नि पशु सेवा विभागको महानिर्देशकका हैसियतले के भन्नु हुन्छ ?
यो वर्ष काठमाडौं उपत्यका र यसको सेरोफेरोका जिल्लाहरुमा मौसम परिवर्तन भईरहेको हामील्े देख्न पाएका छौं । पानी पर्ने चिसो बढ्ने भएकाले यो सालको यो समयमा जत्तिको तापक्रम हुनु पर्ने हो त्यो नहुँदा बर्डफ्लुको भाईरस संक्रमण गएको सालभन्दा बढी भएकै हो । त्यसलाई हामीले न्यूनिकरण गर्नका लागि शंकास्पद स्थानहरुमा अनुगमन गर्ने, पुर्नपरिक्षण गर्ने, बर्डफ्लु देखिएका छन् भने नष्ट गर्ने काम गरिरहेका छौं । यो रोग आउँदा मात्र होइन नआउँदा पनि हामी क्रियाशील भएकाले बर्डफ्लु नियन्त्रणमा नै छ भन्ने लाग्छ ।
० बर्डफ्लु भारतबाट अवैधानिक किसिमले आयात गरिएका चल्लाहरुबाट संक्रमण बढ्यो भन्ने सुनिन्छ हो ?
रोगको कुनै पनि सीमा हुँदैन । यो सीमा विहिन रोग हो । बर्डफ्लु साईवेरियादेखि लिएर जंगली चराचुरुङ्गी कुनै पनि ठाउँबाट आउन सक्छ । त्यसकारण यो देश वा त्यो देश भन्नु भन्दा पनि हामीले हाम्रो जैविक सुरक्षालाई मजवुत बनाएर आफ्नो कुखुराको खोरलाई सुरक्षित बनाउनु पर्दछ । खोरभित्र जाँदा आउँद अपनाउनु पर्ने जैविक सुरक्षाका विधीहरु अपनाउने, फार्म वरिपरि चुनको प्रयोग गर्ने जस्ता सामान्य काम ग¥यौं भने यो रोगमा धेरै नै न्यूनिकरण हुन्छ ।

० चितवन पोल्ट्रीको हवका रुपमा पनि लिने गरिएको छ । तर त्यही जिल्लाको भारतीय सीमाबाट ल्याइने अवैधानिक कुखुरा नै मुख्य समस्या हो तपाइँहरुले अनुगमन नै गर्न सक्नु भएन भन्ने आरोप लागेको छ ?
आरोप एउटका कुरा हो तर हामी स्पष्ट रुपमा भन्छौं हाम्रा ८ वटा क्वारेण्टाईन र २१ वटा चेकपोष्टहरु छन् । ती ठाउँहरुमा हामी अहोरात्र खटेर हामीले नियन्त्रण गरिरहेका छौं । हामीलाई सूचना आउनासाथ हामी नियन्त्रणमा लाग्छौं यदाकता हामीले पनि सुन्ने गरेका छौं । तर कतिपय कुरा हाम्रो पहुँचभन्दा बाहिरको पनि हुन्छ । बजारमा आएका कुखुरा यो भारतको वा नेपालको भनेर छुट्याउन सकिने कुरा होइन । तर हामीले हाम्रा चेकपोष्टहरुबाट आउने ठाउँबाट रोकेका छौं ।

० तर ठूला पोल्ट्री व्यवसायीहरु र पशु सेवा विभागका उच्च अधिकारीहरुको मिलेमतोका कारण चितवनमा देखिने वर्डफ्लु लगायतका संक्रमण लुकाएको पनि देखियो नि ?
म स्पष्ट रुपमा के भन्छु भन्दा म आएको एक महिना पुगेको छैन । विगतका के भयो भन्ने कुरालाई म कोट्याउन चाहन्न तर म आए पछि वर्डफ्लुका केही घटना आएका छन्, त्यसलाई मन्त्रीस्तरबाट नै निर्णय गरेर हामीले सार्वजनिकीकरण गरेका छौ । कुनै पनि कुखुरा पोष्टमार्टममा आएपछि वा कुनै पनि ठाउँमा कुखुरा मरेको वा शंका लागेर खवर आएपछि हामी हेर्ने गर्दछौं । त्यसबाट आएको तथ्य हामी बाहिर ल्याउँछौं लुकाउँदैनौ । वर्डफ्लु भन्ने रोग जंगलमा डढेलो लागेको जस्तै हो देख्निन भन्न मिल्दैन । यो ठाउँमा लुकाइयो देखिएन वा फेला परेन भन्ने नै हुँदैन ।

० तर अन्वेषण गर्दाखेरी मिलेमतो हुने गरेको र रातारात वर्डफ्लु लागेका कुखुरालाई बजारमा पठाउने गरिएको विगतले देखाएको पनि छ यस्तै गलत नियतका कारण नेपालमा पहिलो पटक वर्डफ्लुकै कारण मानिसको मृत्यु भएको पनि भन्ने छ नि त ?
सन् २०१७ पछि अहिलेसम्मको दुई वर्षे अवधिमा विश्वमा एक जना मान्छे मरेको हो भनेर यहाँले हेर्नुपर्ने भो । मानिस मरेको कुरा नेपालको मात्र होइन विश्वको चासोको विषय हो । अर्को कुरा पोल्ट्री र कुखुराबाट नै भएको भन्ने पुष्टि भएको छैन । वर्डफ्लु कुखुरामा लाग्ने रोग हो यही मानिसमा सरेर मृत्यु भएको भन्ने होइन । मृत्यु भएको व्यक्ति पनि कृषिमा संलग्न नभएको हुनाले त्यसको अनुसन्धान स्वास्थय सेवा विभाग विश्व स्वास्थ्य संगठन र पशु सेवा विभागको समेत संलग्नमा संयुक्त रुपमा भईरहेको छ । यसको अन्तिम निष्कर्ष आएपछि फेरि हामी सार्वजनिक गर्ने छौं । यो हल्ला मात्र हो ।

० पशु सेवा विभागको महानिर्देशक बन्नेहरु सवैको पहिलो जिल्ला भ्रमण चितवन नै हुन्छ र किन होला ?
अव त्यसलाई क्रमभंग गर्ने काम म गर्दछौं सवैभन्दा पहिले आफनै विभागलाई मजबुत बनाउनु पर्दछ । हामी बाहिर घुम्न आतुर होइन
आफ्नो जिम्मेवारीको काम सम्पन्न गर्नु पर्दछ । कामको शिलसिलामा कहाँ जाने भन्ने कुरा मन्त्रालयले दिएको निर्णय अनुसार नै गर्ने हो ।

० विगतको अभ्यासलाई हेर्ने हो भने महानिर्देशकहरुले पोल्ट्री व्यवसायी तथा पशु औषधी व्यवसायीहरुको चंगुलमा परेका कारण किसानहरु मारमा परेका छन् भन्ने साना किसानहरुकै दुखेसो छ ?
विगतमा के भयो भन्ने कुराको लेखाजोखा भविष्यले नै गर्ला तर म यहालाई के भन्न चाहन्छु भने हाम्रा केन्द्रविन्दु भनेको साना किसानहरु नै हुन् । त्यसैले हामी कसैलाई तलमाथि गर्दैनौ त्यसमा निश्चिन्त हुनुहोस् । पशुपन्छी पालन गर्ने किसानहरुले उच्चतम प्रतिफल पाउनु पर्दछ भन्ने हाम्रो लक्ष्य पनि हो त्यसकारण कसैको चंगुलमा हामी परेका छैनौं । निजामती सेवामा लागेका लागि जनताको सेवामा आएको हुँ । सिमित व्यक्तिहरुलाई फाइदा पुग्ने कुनै पनि निर्णय म बाट हुँदैन त्यसमा प्रतिवद्धता जनाउछु ।

० पशुपन्छीका लागि आवश्यक औषधीहरु नेपालमा प्रतिवन्धित भएका पनि बजारमा प्रशस्त पाईन्छ नि कहाँबाट आउँछ ?
पशुपन्छीका लागि आवश्यक औषधीको जिम्मेवारी निकाय औषधी व्यवस्था विभाग हो । हामीलाई त्यसमा कुनै पनि अधिकार दिएको छैन । औषधी दर्ता गर्नेदेखि आयात गर्ने कामसम्मको जिम्मेवारी औषधी व्यवस्था विभाग कै हो । हामीले जैविक पदार्थ, भ्याक्सिनको नियमन गर्ने गर्दछौं । फिड सप्लिमेण्ट आयातका लागि हामीले सिफारिस दिने हो । गैरकानूनी काम गर्न हामी कुनै पनि हालतमा छुट दिँदैनौ ।

० तपाईहरुले दिने गरेको फिड सप्लिमेण्टको सिफारिसकै आधारमा पशु औषधी आयात भईरहेको छ त ?
त्यस्ता गुनासा हामीले पनि सुनेको छौं । पशु सेवा विभागले निश्चित रकम बुझाएर आयातको सिफारिस दिने गरेका छौं । आयात गर्दा पनि हाम्रो क्वारेण्टाइन कार्यालयले नियमन गर्दा कागजपत्र ठिकसँग आएको हुन्छ त्यसका आधारमा हामीले आयात रोक्न मिल्दैन ।

० तर त्यही सप्लिेमण्टका नाममा ल्याएका बस्तुहरुबाटै दानामा अनेकथरी एण्टिवायोटिक मिसावट भईरहेको छ ?
दानामा एण्टिवायोटिक हुनु हुँदैन । शुन्य सहनशीलतामा हामी छौं । यदि कसैले दानामा एण्टिवायोटिक मिसाएर जान्छ भने त्यस्तालाई हामी कार्वाही गर्दछौं ।