शुक्रबार, बैशाख १४, २०८१

कृषिका माध्यमबाट आर्थिक विकासमा सक्रिय महिलाहरु

भक्तपुर, असोज । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नंं १ की स्थायी बासिन्दा नानीशोभा मानन्धर अहिले ३३ बर्षकी भइन् । कक्षा १० सम्म अध्ययन गरेकी नानी, विवाहपश्चात आफ्नो घरायसी कामकाज र चुलोचौकामानै व्यस्त हुन थालिन् । उनलाई लाग्यो, “मैले माध्यमिक शिक्षासम्म अध्ययन गरेर के नै भयो र ? आफ्नो परिवारलाई नै सबै समय नदिइ सुखै छैन ।” krisi ma mahila
हुन त विवाह पश्चात महिलाहरुले आफ्नो घरपरिवारमा समय दिनु स्वभाविक मान्ने गरिन्छ नेपाली समाजमा । नानीले पनि यसरी नै आफ्नो जीवन अगाडि बढाइरहेकी थिइन् । जब नानी आजभन्दा १ बर्ष अगाडि स्थानीय डबली महिला समूहमा आबद्ध भइन् । उनलाई लाग्न थाल्यो, महिलाहरुले पनि आयआर्जनका विभिन्न कार्यहरु गर्न सकिँदो रहेछ । अहिले उनी सो समूहमा सक्रिय सदस्यका रुपमा क्रियाशील छिन् । समूहका हरेक गतिविधिमा उनको सक्रियता अब्बल हुने गरेको छ । उनी भन्छिन्,“बोल्न त आउँदैन, तर समूहमा आबद्ध भएपछि केही बोल्न सक्नेचाहिँ भएको छु ।”
अहिले सूर्यविनायक नगरपालिका वडा नंं १ पकाण्डोलमा नानीजस्ता २० जना महिलाहरुको सक्रियतामा डबली महिला समूह १ बर्ष देखि क्रियाशील रहेको छ । समूहमा स्थानीय मानन्धर समुदायका महिलाहरु सदस्य रहेका छन् । उनीहरु हरेक महिनाको २५ गते नियमित बैठक बस्छन् । प्रत्येक व्यक्तिबाट ५ सय रुपैयाँ पनि उठाउँछन् । अनि यसरी उठेको रकमलाई समूहका सदस्यहरुका निम्ति आवश्यक घरायसी खरखाँचो मात्रै होइन, व्यवसायमा समेत लगानी गर्छन् ।
समूहकी सदस्य लक्ष्मी मानन्धरलाई एक पटक आर्थिक अभावको चिन्ताले धेरै नै सतायो । आफ्नो छोराको कलेजमा शुल्क बुझाउन नसक्दा उनलाई चिन्ता लाग्नु स्वभाविक थियो । हुन त यसको समाधानका निम्ति उनले आफू आबद्ध भएको सहकारीमा पनि पैसा सापटी लिने कोसिस भने नगरेकी होइनन् । तर, सहकारीको प्रक्रियागत झण्झट अनि ब्याजदर उच्च रहेको कारण आफनै समूहबाट उनले ३० हजार सापटी लिइन् । आफ्नो समूहबाट १० प्रतिशत व्याजदरमा ऋण पाउँदा दंग हुँदै भनिन्,“आफूले जम्मा गरेको रकमबाट आफ्नो लागि यति ठूलो काम हुँदो रहेछ भन्ने कुरा मैले त्यतिखेर अनुभव गर्न पाएँ । समूह त हाम्रो लागि बैंक भन्दा पनि ठूलो पो रहेछ त ।”
समूहकी अध्यक्ष विन्दू मानन्धर मानविकी संकायमा समाजशास्त्र र अर्थशास्त्र लिएर स्नातक तहसम्म अध्ययन गरेकी छिन् । समूहको नेतृत्व गर्दा उनले पनि समूहबाट प्रसस्त सम्भावना रहेको अनुभव सँगालेकी छिन् । उनी भन्छिन्,“हाम्रो समाजमा गृहिणी महिलाहरु फूर्सदको समय त्यतिकै बिताउने गर्दछन् । उनीहरुको निम्ति विभिन्न आर्यआर्जका कार्यक्रम गर्न सके त केही आर्जन पनि गर्न सकिन्छ भने आफ्नो जीवनको निम्ति पनि धेरै सहज हुन सक्दछ ।”
त्यस्तै, समूहमा आबद्ध भएपछि आफ्नो घरमै चिया नास्ता पसल खोलेकी छिन् चण्डेश्वरी मानन्धरले । उनले पनि आफ्नो पसल सञ्चालन गर्न समूहबाट नै ऋण सहयोग लिएकी हुन् । उनले भनिन्,“आफ्नो समूहबाट ऋण लिँदा सजिलो त छँदैछ,व्याजदर पनि सहुलियत भएको ऋण लिएको जस्तो नै लाग्दैन ।”
समूहले अहिले आफूले संकलन गरेको मासिक रकमबाट लगानी मात्रै पनि गर्दैन । समूहलाई कसरी आय आर्जनका अन्य गतिविधिहरुमा क्रियाशील बनाउने भनेर अन्य वैकल्पिक व्यवसायिक कामहरु पनि सुरु गरेको छ । यसको निम्ति समूहकै १० जना महिलाहरुको सहभागितामा १ रोपनी जग्गा भाडामा लिएर उनीहरुले व्यवसायिक तरकारी खेती समेत गरिरहेका छन् । जहाँ प्लाष्टिक टनेलभित्र गोलभेँडा, काउली, धनियाँ लगायतका सागपात समेत उत्पादन भइरहेका छन् । अहिले प्रत्येक ३ दिनमा झण्डै ७५ केजी गोलभेँडा तथा धनियाँ र सागपात समेत उत्पादन भइरहेको छ । यसको बजारीकरण पनि उनीहरु आफैले गर्छन् । आय आर्जनको राम्रो श्रोत तरकारी खेतीले उनीहरुको समूहको आर्थिक बृद्धि त गरेको छ नै सँगै उनीहरुमा पनि व्यवसायिक दक्षतामा पनि सोझै बृद्धि भएको छ ।
त्यसो त व्यवसायिक तरकारी खेती गर्नको निम्ति समूहलाई जिल्लाको गैरसरकारी संस्था मानवीय आस्था नेपालले प्राविधिक र भौतिक रुपमा आफ्नो सहयोगी हात बढाएको छ । महिलाहरुको जीवनस्तर उकास्नको निम्ति कृषि एउटा राम्रो माध्यम हुन सक्दछ भनेर संस्थाले जिल्लाका विभिन्न समूहका महिलाहरुका निम्ति लक्षित कार्यक्रम गर्दै आइरहेको छ । सोही अनुरुप डबली महिला समूहलाई पनि प्रारम्भदेखि नै प्राविधिक र आंशिक भौतिक सहयोग पनि जुटाइदिएको छ । खासगरी प्लाष्टिक टनेल निर्माणका लागि प्लाष्टिक, बाँस तथा अन्य आवश्यकीय उपकरण पनि संस्थाले उपलब्ध गराएको छ । त्यसको साथै कृषि प्राविधिक सहयोग पनि उपलब्ध गराएको छ । संस्थाका कृषि प्राविधिक हरिबोल न्यौपाने भन्छन्,“हावापानी र मौसमका दृष्टिकोणले पनि गोलभेँडा खेती कृषकहरुका निम्ति उपयुक्त खेती हो । त्यसमाथि आयआर्जनको दृष्टिकोणले पनि गोलभेँडाको राम्रो बजार छ ।” प्लाष्टिक टनेलभित्र गोलभेँडा खेती गर्दा दुईवटा फाइदा हुने गर्दछ । पहिलो उत्पादनमा बृद्धि, दोश्रो जुनसुकै मौसममा पनि उत्पादन गर्न सकिने । यसको व्यवसायिक फाइदाका कारण पनि गोलभेँडा खेती कृषकहरुका निम्ति उत्तम खेती भएको न्यौपाने बताउँछन् ।
समाजको आधा हिस्सा ओगटेका महिलाहरु यदि सशक्तिकृत हुने हो भने समाजमा थुप्रै सकारात्मक परिवर्तन गर्न सकिन्छ भन्नेमा दुईमत छैन । अझ महिलाहरु स्वयं आर्थिक आर्जनको वैकल्पिक बाटोमा क्रियाशील हुँदा त त्यसले अझै गहिरो प्रभाव पार्न सक्दछ ।
अहिले महिलाहरु विभिन्न आयमूलक गतिविधिहरुमा क्रियाशील हुन थालेका छन् । महिलाहरु सशक्तिकृतमा मात्र भएका छैनन्, उनीहरु स्वयं आयआर्जनका विभिन्न गतिविधिहरुमा सक्रिय हुन थालेका छने । चाहे त्यो उद्यमशीलतासँग जोडिएका व्यवसाय होस् वा घरमै बसेर गर्न सकिने विभिन्न सीपमूलक आर्यआर्जनका कार्यहरु नै किन नहोस् । महिलाहरुको उत्साहपूर्ण सहभागिताले एउटा सकारात्मक गोरेटो कोरेको छ । यसमा मानवीय आस्था नेपाल जस्तो सामाजिक संस्थाको साथ र सहयोगले थप टेवा अवश्य पु¥याएको छ । –विमलकुमार थापा

प्रकाशित मिति: आइतवार, अशोज २९, २०७४