शुक्रबार, बैशाख १४, २०८१

कृषिको अनुदान प्रस्ताव देखाएर खाने विचौलियाहरुको कब्जामा छ


सरिता प्रसाइँ
निवर्तमान कृषिराज्यमन्त्री

० आधा बर्षभन्दा बढी कृषि राज्य मन्त्रीका रुपमा बस्नु भो किन कृषिको विकास नभएको रहेछ ?
कृषि क्षेत्रको विकास नभएको भन्ने होइन, हुने चरणमा छ । तर यति लामो समयदेखि कृषि क्षेत्रको विकास, व्यवसायिकताको कुरा हुँदा पनि उपलब्धी भने नदेखिएको पक्कै हो । यसो हुनुको खास कारण सरकारले किसानका लागि धेरै सुविधा दिएको देखिन्छ । तर, किसानसम्म पुगेको देखिएन । जवसम्म उत्पादनमा संलग्न किसानसम्म राज्य दिएको सेवा सुविधा पुग्दैन तवसम्म कृषि क्षेत्रको विकास पनि हुँदैन भन्ने कुरा प्रष्ट छ । कृषि क्षेत्रको विकास नहुनुको कारण पनि किसान तहसम्म किसानका लागि आवश्यक पूर्वाधार सेवा नपुग्नु नै हो ।
० राज्यले किसानका लागि सेवा स्वरुप अनुदान दियो तर त्यो अनुदान उत्पादनमुखि भन्दा पनि अरु नै भयो भन्छन् नि त ?
अनुदान उत्पादनमुखि हुनु पर्ने हो तर त्यो नभएको कुरा स्वीकार गर्नु पर्दछ । अनुदान नै नदिने भन्ने कुरा पनि होइन हाम्रा कतिपय किसानलाई अनिवार्य रुपमा अनुदान आवश्यक पनि छ । तर किसानहरु जसले आफूलाई कृषि उत्पादनमा नै सक्रिय गराईरहनु भएको छ । उहाँहरुको भनाई भने अनुदान भन्दा पनि सहुलियत ऋण भएदेखि प्रभावकारी हुन्थ्यो भन्ने छ । तर अव हामीले दुवै चीजलाईसँगै लिएर जानु पर्ने देखिन्छ । अत्यन्तै गरिव किसानहरु पनि हुनुहुन्छ उहाँहरुको लागि सरकारले अनुदान दिएर उत्थान गर्नु पर्ने हुन्छ । र लगानी गर्न सक्ने आधुनिकीकरण गर्न सक्ने किसानहरुका लागि सहुलियत दरको ऋण प्रवाह गर्नुपर्दछ । जसले गर्दा कृषि क्षेत्रको उत्पादकत्व बृद्धि गर्न मद्दत पुग्ने मैले महशुस गरेको छु ।
० तर कृषि विकास मन्त्रालयले दिने गरेको अनुदान किसानसम्म भन्दा पनि कृषि नगर्ने, प्रस्ताव देखाउने खाने विचौलियाहरुकै कब्जामा देखियो भन्ने गुनासो आउने गर्दछ, त्यो ठिक हो ?
सवै अनुदान प्रस्ताव देखाएर खाने विचौलियाहरुको कब्जामा छ भन्ने होइन अधिकांश अनुदान हेर्दा त्यस्तो अवस्था नदेखिएको होइन, त्यसलाई अवका दिनमा सच्याएर अगाडि बढ्नु पर्दछ । वास्तविक किसान जसले उत्पादन नै गरिरहेको उहाँहरुसम्म पुग्ने अवस्था सृजना गर्नु आवश्यक छ ।
० अहिलेको जस्तै प्रस्ताव लेख्ने र कार्य सम्पन्न भएको कागज देखाएर रकम असुल्ने अनुदानले कृषि उत्पादकत्व बृद्धि गर्न सकिएला त ?
त्यो त हुँदैन । तर, सरकारी प्रक्रियाका लागि पनि कागजी प्रक्रिया पनि आवश्यक छ । सिँधै किसानहरुलाई दिन सक्ने अवस्था छैन । अनुदान प्राप्त गर्नका लागि प्रस्ताव पेश गर्ने र काम सम्पन्न भएको प्रतिवदेन उपलब्ध नगराई निकासा दिन सरकारी प्रक्रियाले नै रोक्ने गरेकाले पनि त्यो अवस्था आएको छ । त्यसलाई कसरी सुधार गरेर लैजान सकिन्छ भन्ने तर्फ नीतिगत तहमा नै बसेर छलफल गरेर किसानकै हातमा पुग्ने गरी उत्पादकत्व बृद्धि हुने सुनिश्चितता गरी अनुदानको व्यवस्था गर्नु पर्दछ । त्यो आउँदन दिनमा सुधार हुन्छ भन्ने आशा गरौं ।
० के भयो भने परम्परागत रुपका खेती गरिरहेका किसानहरु व्यवसायिकतातिर अगाडि बढ्न सक्लान् त ?
मुुलुक संघीयतामा गईसकेको छ । निर्वाचत सम्पन्न भएर जिम्मेवारी लिने काम पनि चलिरहेको छ । स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएको छ । हामी नेपालीहरुसँग धेरै खेतीयोग्य जमीन पनि छैन । त्यसकारण थोरै जग्गामा धेरै उत्पादन कसरी गराउन सकिन्छ भन्ने खालले नयाँ प्रविधि, आधुनिक प्रविधिका बारेमा किसानहरुलाई जागरुक गराउनु आवश्यक छ । हामीले प्रविधिलाई प्रयोग गरी थोरै जमीन र लगानीमा धेरै कृषि उत्पादन गर्न सक्ने अवस्थामा पुग्यौं भने मात्र कृषि क्षेत्रको विकास हुन्छ ।
० अहिलेको अवस्थामा त्यो सम्भव देख्नु हुन्छ त ?
असम्भव भन्ने कुरा छैन । हामीसँग नभएका प्रविधिलाई भित्र्याउन प¥यो । विदेशमा कम जमीन भएर पनि कृषिमा कसरी आत्मनिर्भर भएका छन् कसरी उत्पादन बढी गरिरहेका छन् भन्ने कुरा र उनीहरुले गरेका प्रयोगलाई ल्याउन सक्नु पर्दछ । त्यसो गर्न सकिएमा हामीले पनि थोरै जमीनमा धेरै उत्पादन लिन सक्छौं ।
० विदेशको नयाँ प्रविधि नेपाल भित्र्याउने र किसानसम्म पु¥याउने भन्दै कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरु त पटक पटक विदेश जाने, करोडौं खर्च गर्ने गरेका छन् त ? कति भित्रिएको पाउनु भो ?
महत्वपूर्ण कुरा उठाउनु भो । अहिले देखिएको विदेश भ्रमणले नेपाली कृषि क्षेत्रको विकास हुन्छ भन्ने कुरामा म विश्वास गर्दिन । किनभने विगतदेखि नै प्रविधि अवलोकन गर्ने नाममा विदेश भ्रमण भएका छन् । करोडौं सकिएको पनि छ । तर विदेश गएर आएपछि त्यसलाई प्रयोगमा ल्याउने वा त्यस्ता प्रविधि विस्तार गर्ने, किसानसम्म जानकारी गराउने प्रचार प्रसार गर्ने काम हुने गरेका छैनन् । विदेश अवलोक भ्रमण गयो आयो त्यत्तिमा नै सिमित भएको छ । अर्को कुरा जुन प्रसंग र विषयका लागि विदेश भ्रमण गर्ने हो सो विषयमा काम गर्ने व्यक्ति विदेश गएको देखिंदैन त्यसकारण पनि त्यस्ता प्रविधि किसानसम्म पु¥याउन गाह्रो छ ।
अहिलेसम्म कृषि विकास मन्त्रालयले किसानसम्म नयां प्रविधि विस्तार तथा प्रचार प्रसार गर्ने काम त गरेको देखिंदैन ?
त्यो नै कमजोरी हो । हिजोकै प्रणाली र प्रक्रियामा जाने हो भने कृषि क्षेत्रमा मुखले मात्र विकास हुन्छ कामले हुँदैन । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: बिहिबार, फाल्गुन १७, २०७४