काठमाडौं, असार । मानो रोपेर मुरी फलाउने असार महिना आम नेपाली किसानहरुका लागि महत्वपूर्ण हुने गर्दछ । त्यसमाथि पनि असार १५ को महत्व झन् बढ्दो छ । दही चिउरा खाने र खेतमा धान रोप्ने कतिपयलाई रहर छ भने कतिपय वाध्यता पनि छ । रहले रोपाइँमा सामेल हुनु र वाध्यताले जीवन निर्वाह गर्नका लागि रोपाइँ गर्न खेतमा पस्नुको अर्थ नै फरक छ । आज बाह्रौं राष्ट्रिय धान दिवस मुलुक भरी मनाइयो । काठमाडौंको धर्मस्थलीमा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले धान दिवसमा पुगे ।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुर पुगेर धानको वीउ हस्तान्तरण गरे जस्तो गरे । कृषि मन्त्री हरिप्रसाद पराजुली खेतमै पसेर रमाईलो गर्दै धान दिवस मनाउन सफल भए । जिल्ला जिल्लामा कृषि विकास कार्यालयहरुले आफ्नै तर्फबाट धान दिवस भव्य मनाउन सफल भए ।
तर, वमुलुकको आर्थिक मेरुदण्डको एउटा हिस्साका रुपमा मानिएको कृषि क्षेत्र यस्तै आषाढ १५गते तिर मात्र चर्चा हुने गर्दछ । हरेक राजनीतिक दलका नेता वा भातृसंगठनहरु आषाढ १५ गते खेतमा पुगेका देखिन्छन् । खासगरी आषाढ १५ गते केवल दिवसका रुपमा मात्र मनाइएको छ भन्दा फरक नपर्ला ।
यो बर्षको धान दिवसका अवसरमा मुलुकभर जे जस्ता दृश्यहरु देखा परे ती दृश्यले बताउँछ नेपाली कृषि क्षेत्रको यथार्थ । किसानका पक्षमा वकालत गर्ने नाममा खुलेका राजनीतिक संगठनहरु अघिपछि केही नबोले पनि धान दिवस भने मनाउँछ पछि पर्दैनन् । १२ औं धान दिवसमा पनि एमाले, माओवादी, कांग्रेस लगायतका पार्टीका भ्रातृसंगठनले धान दिवस मनाए । धान दिवस मनाउनेहरु त अधिकांश सामाजिक सञ्जालमा तस्वीर हाल्नका लागि पनि खेतको हिलोमा छिरेर फोटो खिचाउनमा नै व्यक्त देखिएका थिए । एमालेको अखिल नेपाल किसान महासंघले काठमाडौंको काभ्रेस्थलीमा गरेको कार्यक्रम होस् कि नेपाली कांग्रेसको किसान संघले भक्तपुरमा गरेको कार्यक्रम नै किन नहोस् यी कार्यक्रम किसानहरुलाई कृषि पेशामा उत्साहित गर्ने भन्दा पनि धान दिवसका लागि मात्र दिवस मनाएको भान हुन्थ्यो ।
कृषि विकास मन्त्रालयकै आयोजनामा भएको धान दिवसलाई हर्ने हो भने काठमाडौंको मूलपानीमा मनाइएको धान दिवसले खासै प्रभाव पार्न सकेन । तर, खुमलटारमा मनाइएको धान दिवसले यान्त्रिकीकरणमा केही जोड दिएको देखिन्छ । यो जोड पनि धान दिवसमा मात्र हुने हो कि भन्ने चिन्ताले पनि सताएको छ ।
यद्यपी झापा, मोंरङ्ग, चितवन, गोरखा, महेन्द्रनगर, इलाम सोलुखुम्वु, ताप्लेजुङ्गसम्म पनि धान दिवसको रौनक त छायो । तर यही आषाढ १५ गतेसम्म पनि बारा, पर्सा, रौतहट लगायनका जिल्लामा बर्षा नहुनाले किसानका खेत बाँझै देखिए । धान दिवस मनाउन टन्टलापुर घाममा काभ्रेस्थली, मुलपानी वा खुमलटार पुगेको नीतिगत तहका बसेका व्यक्तिहरुले धान रोपाइँका लागि सिंचाई सुविधान पु¥याउने प्रतिवद्धता भने कतै पनि देखाएनन् ।
सवै ठाउँलाई हेर्ने हो भने हाम्रो धान उत्पादनको अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा देखिन्छ । जसका कारण हरेक बर्ष अरवौं रुपैयाँको चामल भित्र्याउनु पर्ने वाध्यता छ । तसर्थ यस्ता महोत्सव वा दिवस देखाउनका लागि मनाउने भन्दा पनि किसानहरुसँग भएका समस्या, किसानका दुख र पीडालाई सम्वोधन गर्ने किसिमले सिंचाई, मल बीउ सहजतको अवस्थामा कसरी ल्याउने सकिन्छ भनने तर्फ ध्यान दिनु जरुरी छ । अन्यथा धान दिवस आषाढ १५ मा मात्र सिमित नहोला भन्ने सकिंदैन ।
Add Comment