सोमवार, जेष्ठ ७, २०८१

उत्पादन भएको अदुवा स्थानीय बजारमा खपत नहुँदा,अदुवाको बजार खोज्दै कृषक

कमलबजार। अछामका चार पालिकामा यस वर्ष १८० मेट्रिक टन अदुवा उत्पादन भएको छ । जिल्लाको पञ्चदेवल विनायक, कमलबजार, साफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकाका कृषकले अदुवाको उत्पादन गरेका हुन् ।

चार पालिकाका करिब एक हजार दुई सयभन्दा बढी कृषकले यस वर्ष प्रतिव्यक्ति १५० किलोग्रामभन्दा बढी अदुवा उत्पादन गरेका छन् ।

चार वटै पालिकामा कृषक समूह बनाएर अदुवा खेती भइरहेको छ । पञ्चदेवल विनायक नगरपालिका–१ की अदुवा उत्पादक कृषक नामसरा देवकोटाले आफ्नो समूहका २२ जना महिलाले अदुवा उत्पादन गरेको बताउनुभयो । उहाँका अनुसार समूहका कृषकले साढे तीन मेट्रिक टन बराबरको अदुवा उत्पादन गरेका छन् । चार वटै पालिकामा ५४ वटा कृषक समूहले अदुवा उत्पादन गरेका हुन ।

कृषकले उत्पादन गरेको अदुवाको बजारीकरणमा भने कृषकलाई सास्ती भएको छ । एकै पटक ठुलो मात्रामा अदुवा उत्पादन भएपछि स्थानीय बजारमा खपत हुन नसक्दा बिक्रीमा समस्या भएको हो । मेल्लेख गाउँपालिका–१ की अदुवा कृषक कमलाकुमारी साउद धामीले उत्पादन गरेको अदुवाले बजार नपाएको गुनासो गरे ।

मेल्लेख गाउँपालिका–५ का कृषक दीर्घराज अधिकारीले आफूहरूले उत्पादन गरेको अदुवाले बजार नपाउँदा समस्या भएको बताए । उत्पादन भएको अदुवा स्थानीय बजारमा खपत नहुँदा अछामका कृषक बजार जिल्लाबाहिर अदुवाको बजार खोज्न थालेका छन् ।

प्रकाशित मिति: आइतवार, पुस ८, २०८०