सोमवार, जेष्ठ ७, २०८१

सर्लाहीमा धान उत्पादनमा कमी

सर्लाही । गत वर्षको तुलनामा यस वर्ष मधेश प्रदेशमा धान उत्पदान घटेको छ । मधेश प्रदेशको सर्लाही जिल्लामा यो वर्ष धान उत्पादन घटेको छ । आकासे वर्षा कम हुँदा धान उत्पादनमा गिरावट आएको हो । मलखाद, विषादी, पप्पसेट र कामदारमा लागेको लगानी तथा आफ्नो हैरानी अनुसार धान उत्पादन राम्रो नहुँदा जिल्लाका किसान चिन्तित छन् ।

चन्द्रनगर गाउँपालिका–३, गेरुका टोलका किसान विनोद साहले छ कठ्ठामा लगाएको न बालीमा सिँचाइका लागि मात्रै १० हजार रुपियाँ खर्च भएको गुनासो गरे । “यो वर्ष आकासे वर्षाले साथ नदिँदा धान राम्रो फलेन,” खेतमा धान काट्दै गरेका साहले भने “छ कठ्ठामा १० हजारको त पानी मात्रै पटाएँ तर १० हजारको धान फलेको छैन ।”

आवश्यकता अनुसार आकासे वर्षा नहुँदा अधिकांश किसानले यो वर्ष धान बालीमा दमकल अर्थात् पप्पसेट चलाएर पानी पटाएका छन् । दमकलबाट सिँचाई गर्दा प्रतिघण्टा तीन सय रुपियाँ तिर्नुपर्छ ।

एक कठ्ठामा पानी पटाउन कम्तीमा पनि दुई घण्टासम्म दमकल चलाउनुपर्छ । धान रोप्दा तथा रोपिसकेपछि पनि बारम्बार दमकल चलाएर पानी पटाउँदा खर्च बढेको किसानले बताएका छन् ।

पछिल्लो समय मलखाद र सिँचाइको अभावले खेती लगाउनै मुस्किल पर्न थालेको गेरुका टोलका किसान साहले गुनासो गर्नुभयो । “जे जति कृषि उत्पादन गरेका छौँ, त्यो सबै किसानकै बलबुताबाट भएको हो,” साहले गुनासो पोख्दै भने “सरकारले बेलैमा मलखाद र सिँचाइको प्रबन्ध गरिदिए किसानलाई राहत मिल्थ्यो ।”

प्रमुख चाडपर्व सकिएसँगै सर्लाहीका किसान अहिले धान भित्र्याउन व्यस्त छन् । प्रत्येक फाँटका किसानलाई धान काट्ने, बोझा बाँध्ने र थ्रेसर लगाउने चटारो परेको हो । लालबन्दी नगरपालिका–३, जब्दीका किसान रुपलाल चौधरीले यो वर्ष कम वर्षा र रोग, कीराको प्रकोपले धान उत्पादन घटेको गुनासो गरे । “पोहोर साल धेरैको पानसोना जातको धान राम्रो फलेको देखेर जब्दी फाँटका धेरैले यो वर्ष त्यही धान रोप्यौँ तर राम्रो फलेन,” चौधरीले भने, “यो वर्ष मेहनत र लगानी अनुसार धान उत्पादन हुन सकेन ।”

कृषि ज्ञान केन्द्र सर्लाहीले गएको वर्ष भन्दा धान खेती केही बढेपनि उत्पादन भने घटेको जनाएको छ । ज्ञान केन्द्रका प्रमुख देवानन्द राय यादवले सिँचाई सुविधा रहेको क्षेत्रमा धान उत्पादन राम्रै भएपनि आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा उत्पादन घटेको बताए।

“पानी लाग्ने क्षेत्रमा धानको उत्पादन राम्रै देखिन्छ तर आकाशे वर्षा कम हुँदा सिँचाइ सुविधा नभएको ठाउँमा धानको उत्पादन घट्यो,” रायले भने,“ केही क्षेत्रमा रोग, कीराको प्रकोप पनि देखिएको छ । कार्यालयको तथ्याङ्क अनुसार सर्लाहीमा ४६ हजार ५०० हेक्टर जग्गामा धान खेती हुने गरेको छ ।

जिल्लामा गत वर्ष एक लाख ६४ हजार १४५ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्ष चारदेखि पाँच मनसम्म धान उत्पादन भएको खेतमा यो वर्ष दुई मन धान उत्पादन गर्न पनि समस्या परेको किसानले बताएका छन् ।

प्रकाशित मिति: बिहिबार, मंसिर ७, २०८०