आइतवार, जेष्ठ ६, २०८१

ताप्लेजुङका किसानलाई अलैँची भित्र्याउन चटारो,

ताप्लेजुङ । ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । अलैँची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ । बेँसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ ।

अहिले मध्यभागमा अलैँची थन्क्याउने मुख्य याम भएकाले किसानलाई चटारो छ । अलैँची सङ्कलन ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका ज्ञानबहादुर गुरुङले बताए ।

अलैँची थन्क्याउने यामका कारण चाडपर्व सहज गरी मनाउनै नपाएको उहाँले बताए । मुख्य याम भएकाले चाडपर्वमा पनि अलैँची बारी बगानमै बिताउनुपरेको फक्ताङलुङ गाउँपालिका–६ मादिबुङका वसन्त लिम्बूले बताए । तिहार अलैँची बगानमै मनाउने उनको योजना छ ।

फुङ्लिङ नगरपालिका–६ बिहीबारेका खाङ्डु शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमै दसैँ बितेको बताईन् । घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको उनले बताईन् ।

अलैँची खेतीमा संलग्न जिल्लाभरका किसानलाई अहिले अलैँची भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्दै आएका छन् । जिल्लामा करिब ४ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । ताप्लेजुङमा प्रतिमन ४० किलो खलैँची रु ५५ हजारमा खरिद बिक्री हुँदै आएको छ ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २१, २०८०