शुक्रबार, जेष्ठ ४, २०८१

पढ्दै कमाउँदै विद्यार्थी फूलखेतीमा

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका हुन् ।

विद्यालयमा डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत अनुप राना मगर, सामेल पौडेल, शरण विक र सुमन मगरले विद्यालयको आठ रोपनी जग्गामा सयपत्री फूलखेती गरेका हुन् । यहाँ दुई प्रजातिका फूल रोपिएको थियो । कर्मा पाँच सय ५५ र टिटी प्रजातिका फूल रोपिएकोमा सबै फूल बिक्रीका लागि तयार भएको विद्यार्थी पौडेलले जानकारी दिए । पौडेलले भने, “हाम्रो प्रयोगात्मक र ‘ओजिटी’ अन्तर्गत सयपत्री फूल उत्पादन गरेका हौँ, यसका लागि गाउँपालिकाले हामीलाई प्रोत्साहन गर्यो।”

यहाँ १० हजार फूल उत्पादन भएका छन् । विद्यार्थी विकका अनुसार तीन महिना अगाडि फूल रोपिएको थियो । त्यसक्रममा उनीहरुले छ पटक फूलको गोडमेल गरेका थिए । “जग्गा जोत्ने, बिरुवा जमाउने, मल हाल्ने सबै काम हामीले नै गरेका छौँ”, उनले भने। फूलखेतीका लागि आँबुखैरेनी गाउँपालिकाले ३ लाख सहयोग गरेको थियो । विद्यार्थी विकका अनुसार आफूहरुको प्रयोगात्मक शिक्षण अन्तर्गत फूलखेतीका लागि गाउँपालिकाले प्रोत्साहन गरेकामा खुसी लागेको बताए ।

माला रु तीन सयमा र फूल प्रति किलो रु एक सयमा बिक्री भइरहेको उनले बताए। समय र मौसमका कारण कतिपय फूल छिटो फुलिदिँदा समस्या भएको जनाउँदै उहाँले समयको व्यवस्थापन गरेर मात्रै फूलखेती गर्नुपर्ने पाठ सिकेको बताए। उनले , “फूल छिटो फुलेर समस्या हुने रहेछ, त्यसका लागि चिस्यान केन्द्रमा फूल राख्ने व्यवस्था मिलाएका छौँ ।

गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउने उद्देश्यसहित यसै वर्षदेखि सयपत्रीको व्यावसायिक उत्पादनमा सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उनका अनुसार मित्रता माध्यमिक विद्यालय, सोही वडाको यान्चोक आमा समूह र आँधीमूल आमा समूहमार्फत् सयपत्री फूलखेती सुरु गरिएको थियो ।

अहिले ३० हजार सयपत्री फूल फुलेको जनाउँदै यसको बजार व्यवस्थापनका लागि पालिकाले समन्वय गरेको चुमानले बताए । “तिहारमा विदेशी प्लास्टिकका फूल तथा झिलिमिलीको सट्टा स्थानीयस्तरमा उत्पादित फूल प्रयोगमा जोड दिएका छौँ”, उनले भने, “यसका अतिरिक्त छिमेकी पालिकासँग पनि समन्वय गरी बिक्रीको व्यवस्था मिलाउँछौँ ।”

प्रकाशित मिति: आइतवार, कार्तिक १९, २०८०