शुक्रबार, जेष्ठ ४, २०८१

सयपत्री फूल चिस्यान केन्द्रमा भण्डारण

तनहुँ ।जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित मिलीजुली कृषि उत्पादक सहकारी संस्था लिमिटेडको चिस्यान केन्द्रमा सयपत्री फूल भण्डारण गर्न थालिएको छ । लामो समयदेखि बिग्रिएर प्रयोगविहीन बनेको सहकारी संस्थाको चिस्यान केन्द्र गाउँपालिकाले मर्मतसम्भार गरी पुनस् सञ्चालनमा ल्याइएको हो ।

आँबुखैरेनी–१ स्थित याञ्चोक र आँधीमूल आमा समूह तथा मित्रता मावि परिसमा गरी करिब २६ रोपनी क्षेत्रफमा व्यावसायिक फूल खेती गरिएको छ । पालिकाले केन्द्र मर्मत गरी सयपत्री फूल भण्डारणका लागि प्रयोगमा ल्याइएको गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले जानकारी दिए । यस वर्ष मौसम उपयुक्त भएकाले छिट्टै फूलको वृद्धि विकास भई तिहार अगावै फूल फक्रिन थाल्ने उनले बताए । फूल फक्रिन थालेपछि टिपेर माला बनाइने उनको भनाइ थियो ।

गोरखा, दमौली, काठमाडौँलगायत स्थानबाट तिहारका लागि आठ हजारभन्दा बढी मालाको माग भइसकेको केसीले बताउनुभयो । “याममा गुणस्तर हेरी प्रतिमाला रू ४० देखि ७० सम्म बिक्री गर्ने योजना रहेको छ”, उनले भने, “अन्य समयमा प्रतिमाला रू ७० मूल्य कायम गरिएको छ । खुद्रा भने रू एक सयदेखि एक सय २० सम्म बिक्री गर्ने योजना छ ।”

पहिलो वर्षको अनुभव रहेकाले प्राविधिक व्यवस्थापन गरिरहेका केसीले बताए । उनका अनुसार पूर्ण रुपमा फक्रिएका फूल मात्रै टिपेर माला बनाएर चिस्यान केन्द्रमा राख्न थालिएको छ । करिब पाँच हजार माला चिस्यान केन्द्रमा राख्न सकिने क्षमताको रहेको गाउँपालिका कार्यालयले जनाएको छ ।

महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न एक सय प्रतिशत अनुदानमा बिरुवा वितरणदेखि प्राविधिक सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनका अनुसार अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री प्रवद्र्धन कार्यक्रमलाई अघि बढाइएको हो ।

अन्य ठाउँबाट ल्याइने फूल तथा मालाको तुलनामा सुपथ मूल्यमा यहाँ उत्पादित फूल बिक्री गर्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, कार्तिक १८, २०८०