शनिबार, जेष्ठ ५, २०८१

च्याउ खेतिबाट मनग्य आम्दानी, कृषि पेशामा खुशी छन् किसान

गोरखा। गोरखाका एक परिवारले व्यावसायिकरूपमा सिताके च्याउखेती गरेर वार्षिक आठ लाख आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–५ ठूलोरिपकी सानुमाया थापामगरको परिवारले सात वर्षदेखि व्यवसायिक च्याउखेती गरेर जीविकोपार्जन गरिरहेको छ ।

“पहिला त आफैँले खानका लागि भनेर सुरु गरेका थियौँ । त्यसैलाई बढाएर अहिले व्यावसायिकरूपमा खेती गरिरहेका छौँ”, सानुमायाले भनिन् “अहिले यही पेसाबाट पूरै परिवारको पालनपोषण र शिक्षादीक्षासमेत सजिलै चलेको छ ।” उत्पादन गरेका च्याउ बजारमा सहज बिक्री हुने गरेको उनको भनाइ छ । राम्रो उत्पादन भएको वर्ष च्याउ खेतीबाटै वार्षिक सात–आठ लाखभन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिईन् ।

बजारमा राम्रो मूल्यमा बिक्री हुने सिताके च्याउको व्यावसायिक खेतीबाट परिवारका २२ जनाको जीविकोपार्जन भइरहेको सानुमालेले बताईन् । “विसं २०७२ माघदेखि च्याउ खेती गर्न सुरु गरेका हौँ । अहिले करिब साढे सात वर्ष हुनै लाग्यो”, उनले भननिन्, “सिताके च्याउ खेतीबाट सिजनका बेला दैनिक ५ पाँच हजारसम्म आम्दानी हुने गरेको छ । राम्रो उम्रेको बेला एकैदिनमा १०–१२ किलोसम्म उत्पादन हुन्छ ।”

सानुमायाले बजारमा माग बढी भएकाले पुर्याउन नसकिएको बताईन् । अहिले बजारमा प्रतिकिलो ५ सयसम्म सिताके च्याउ बिक्री हुने गरेको उनले जानकारी दिईन् ।

उत्पादन भएका च्याउ बजारभन्दा पनि वरपर र छरछिमेकलाई बिक्री गर्दैैमा सकिने भएकाले मुख्य बजारमा पुर्याउन अझै नपाएको कृषक थापामगरको भनाइ छ । “विशेषगरी मङ्सिरदेखि चैतसम्म राम्रो उत्पादन हुने गर्छ”, उनले भनिन्, “वर्षभरिमा चार महिना राम्रो कमाइ हुन्छ ।” थापामगरको परिवारले दुईवटा प्लास्टिकको घर निर्माण गरेर खेती गर्दै आएका छन् । रासस /कृषि सा.

प्रकाशित मिति: शुक्रबार, अशोज २६, २०८०