मङ्लबार, जेष्ठ ८, २०८१

प्रतिनिधिसभामा उपभोक्ता बजार नियमन र अनुगमनको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले चाडबाडको समयमा भएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका विषय सम्बोधन गर्नका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

उपभोक्ता बजार अनुगमन, सवारी टिकटको सहज व्यवस्थापन, दैनिक उपभोग्य वस्तुको पर्याप्त आपूर्ति, शान्ति सुरक्षा कायम गर्नेलगायतका विषयमा सांसदहरुले बोलेका हुन् ।

सांसद बिजुला रायमाझीले आम उपभोक्ताले चर्को महँगी, कालोबजारी र गुणस्तरहीन वस्तुको समस्या भोग्नु परेको, यातायात सुविधा सहज हुन नसकेको, सडक छेउका होटलमा अखाद्य सामग्री बिक्री वितरण भइरहेको विषय उठाएका छन् ।

सांसद बिनिता कुमारी सिंहले खाद्यजन्य वस्तुमा प्रयोग हुने हानिकारक विषादी भइरहेको विषय उठाए। फलफूल, तरकारीमा र खाद्य सामग्रीमा विषादी परीक्षण बढाउनुपर्ने उनको भनाइ छ ।

सांसद सीता मिजारले बजारमा कृत्रिम अभाव, कालोबजारी, एकाधिकार, सवारी टिकट अभावको समस्यालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बिना लामाले देशका दुर्गम स्थानमा खाद्य आपूर्ति सहज बनाउन संसद्मार्फत् सरकारको ध्यानाकर्षण गरेका हुन् ।

सांसद सूर्यकुमारी श्रेष्ठले नेपालको जनशक्ति विदेशिनुमा कृषि क्षेत्रमा सुधार हुन नसक्नु मुख्य कारण रहेको बताए । बङ्गलादेशले कृषि क्रान्तिमार्फत् आर्थिक समृद्धि हासिल गरिरहेको उल्लेख गदै उनले नेपालले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर युवाशक्ति विदेश जानबाट रोक्नुपर्ने बताए ।

प्रकाशित मिति: आइतवार, अशोज २१, २०८०