शुक्रबार, जेष्ठ ४, २०८१

जङ्गली जनावरद्वारा बालीनाली सखाप भएपछि भोकमरी हुने चिन्ता

बैतडी । बैतडीमा जङ्गली जनावर बँदेल, भालु, दुम्सी, बाँदरलगायतले आतङ्क मच्चाएका छन् । ती जनावरले पछिल्लो समय मानिसमाथि आक्रमण गर्नुका साथै बालीनालीसमेत नष्ट गर्न थालेका छन् । दिउँसो बाँदर र रातिको समयमा बँदेल, दुम्सीले मकैबाली नष्ट गर्न थालेको दोगडाकेदार ३ श्रीकोटका डम्बर जोशीले बताए । मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएको यस जिल्लाका अधिकांश क्षेत्रमा मकैबाली जोगाउनै मुस्किल भएको छ ।

मकैबाली जोगाउन बारीमै जाग्राम बस्नुपरिरहेको अर्का किसान झिमा विष्टले गुनासो गरे । दिउँसोको समयमा बाँदरले खेतबारीमा लगाएको बाली नष्ट गर्ने गरेको छ । घोगा लाग्ने बेला मकैबाली जङ्गली जनावरले सखाप पार्न थालेको छ । उनले भने, “रातदिन खेतबारीमा टहरा बनाएर पहरा दिँदासमेत मकैबाली जोगाउन सकिने अवस्था छैन, दिनमा बाँदर र रातिको समयमा जङ्गली बँदेलले मकैबाली नष्ट गर्ने गरेको छ ।”

रातिको समयमा मात्रै आउने जङ्गली बँदेल अब दिउँसै बारीमा आउन लागेका छन् । रातिका समयमा बँदेलको बथान आएर किसानले लगाएको मकै वाली नष्ट पार्न थालेपछि भोकमरी हुने चिन्ता बढेको पञ्चेश्वर वीरेन्द्र भट्टले जानकारी दिए । बस्ती नजिकका जङ्गलबाट आएर जङ्गली बँदेलले मकै नष्ट गर्ने गरेको छ । उनले भने, “जङ्गली जनावरले मकै सखाप पारेका छन्, जोगाउनै सकस छ । भोकमरी हुने चिन्ता पनि बढेको छ ।”

किसानले मेहनत गरेर लगाएको बाली बर्सेनि जङ्गली जनावरले सखाप पार्न थालेपछि किसानलाई चिन्ता बढेको छ । हरेक वर्ष जङ्गली जनावरले बालीनालीमा व्यापक क्षति पु¥याउन थालेपछि कतिपय ठाउँका किसानले बालीनाली लगाउनै छोडेका छ । जिल्लाका विभिन्न ठाउँमा जङ्गली जनावरले बर्सेनि बाली नालीमा क्षति पु¥याउने थालेपछि नागरिकको कृषि पेसामा आर्कषण घट्दै गएको छ ।

यसैबीच जङ्गली जनावरले मानिसमाथि नै आक्रमण गर्न थालेको छ । केही दिन अगाडि शिवनाथ गाउँपालिका २ फट्केढुङ्गाका १२ वर्षीय मनिस साउँदमाथि जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको थियो । मकैबाली खान आएका जङ्गली बँदेलले दिनमै मानवमाथि आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास फैलिएको छ । एकातिर मकैबाली नास हुनै भन्दै चिन्ता बढेको छ भने अर्कोतिर मानवमाथि नै आक्रमण हुन थालेपछि डर पनि बढेको मानसिंह साउँदले बताए । उनले भने, “मेहनत गरेर लगाएको मकैबाली जोगाउन मुस्किल परेका बेला जङ्गली जनावरले मानिसमाथि नै आक्रमण गर्न थालेपछि त्रास फैलिएको छ ।”

जङ्गली जनावरले पारेको क्षतिबारे स्थानीय सरकारले एक्लैले नसक्ने जनप्रतिनिधिले बताउँदै आएका छन् । बैतडीमा १४ हजार पाँच सय हेक्टर जमिनमा मकै खेती हुने गरेको भए पनि पछिल्लो समयमा उत्पादनमा कमी आउन थालेको छ । जङ्गली जनावरले मकैबाली सखाप पार्ने गरेकाले उत्पादन घटेको हो । बाली बीमा नहुँदा किसानले बालीनालीमा क्षति पुग्ने गरेको भए पनि क्षतिपूर्ति पाउँदैनन् । रासस

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०