आइतवार, जेष्ठ ६, २०८१

सार्वजनिक जग्गामा नरिवलको बिरुवा रोपियो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका– ४ स्थित करिब ४ बिघा क्षेत्रफल सार्वजनिक जग्गामा १२ सय नरिवलको बिरुवा रोपिएको छ।

पालिकाको ४ नम्बर वडाबाट सुरु गरिएको नरिवलको बिरुवा रोप्ने कार्यलाई गाउँपालिकाले विस्तार गर्दै लैजाने जनाएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम र वडाको करिब ११ लाख बजेटबाट नरिवलको बिरुवा रोपिएको हो।

गाउँपालिकाको आर्थिक वर्ष ०८०र८१ को नीति तथा कार्यक्रमको वन, वातावरण तथा विपत् व्यवस्थापन शीर्षकमा सामुदायिक वन तथा डिभिजन वनको सहयोगमा नदी उकास पर्ती जमिनमा आर्यआर्जन गर्ने गरी नरिवलको बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

मनहरी गाउँपालिकाको ४ नम्बर वडाको सार्वजनिक जग्गामा नरिवल रोपिएको छ। यसलाई निरन्तरता दिँदै चालू आर्थिक वर्षमा पनि नरिवलको बिरुवा रोप्ने कार्यलाई निरन्तरता दिन नीति तथा कार्यक्रममै उल्लेख गरेको ‘गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए।

तटबन्धपछि रहेको नदी उकास जग्गामा वडा कार्यालयको अगुवाइमा १२ सय नरिवलका बिरुवा रोपिएको वडा अध्यक्ष प्रकाश थापाले बताए । उनले भने नदी उकास जग्गा अतिक्रमणमा पर्ने सम्भावना बढ्दै गएपछि संरक्षणसँगै वडा र पालिकाको आयआर्जनका लागि स्रोत बढाउने लक्ष्यसहित नरिवल खेती सुरु गरिएको हो ।

नरिवल रोपेर नदी उकास जमिनको संरक्षण हुनुका साथै बस्ती जोगाउन र आयआर्जनमा सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष कालाखेतीको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०