शनिबार, जेष्ठ ५, २०८१

चामलसँग भटमास साट्दै डडेल्धुराका किसान

डडेल्धुरा, २९ मंसिर । पछिल्ला समयमा जिल्लाका अधिकांश गाउँँका कृषक भटमाससँग नुन, चामललगायतका खाद्य सामग्री साट्न व्यापारीकहाँ धाउन थालेका छन् । वर्षायाममा लगाइने बाली बँदेलले नष्ट गर्न थालेपछि किसानले धान, गहुँ, मकैजस्ता बाली छोडेर भटमास तथा अन्य दलहन खेतीतर्फ आकर्षित भएका हुन् । कृषकले लगाएका मकै बँदेलले सखाप गर्न थालेपछि अजयमेरु गाउँपालिकाका र डडेल्धुराको ग्रामीण भेगका अधिकांश कृषकले मकै र धानखेती लगाउन छाडेको अजयमेरु गाउँपालिका–५ की मायादेवी पालले बताए ।
ग्रामीण क्षेत्रमा यातायातको सुविधा पुगेसँगै व्यापारी नुन र चामल लगेर गाउँमै भटमासलगायत दलहन खरिद गर्न पुग्ने गरेको अजयमेरु–१ समैजीका कृषक बताउँछन् । बजारको मूल्य गाउँमै पाइने र नुन चामल पनि घरसम्मै पुग्ने भएकाले सजिलो भएको समैजीकी दुर्गा भण्डारीले बताए ।
अहिले प्राय गाउँ क्षेत्रका कृषकले भटमासको भारी बोकेर चामललगायत अन्य दैनिक उपभोग्यका सामग्री खरिद गरी रहेका भेटिन्छन् । गाउँमा नै भनेको दाम पाइने भएपछि बिक्रीका लागि सहज भएको उनीहरूको भनाइ छ । एक केजी भटमाससँग दुई केजी चामल साट्ने गरेको अजयमेरु–२ भद्रपुरका इन्द्रा पनेरुले बताए । प्रायः घरमै गएर खरिद गरे सस्तो मूल्य पर्ने तर बिक्री गर्ने ठाउँसम्मै बोकेर ल्याउँदा उचित मूल्य पाइने उनले जानकारी दिए । भटमासको मूल्य गाउँमा नै ६० देखि ७० मा बिक्री हुने गर्दछ । एक किलो भटमासमा दुई किलो चामल भन्दै साटेर लैजान्छन् ।
गत वर्ष पाँच कट्टा जमिनमा लगाएको मकै सबै सखाफ गरेपछि भने यो साल आफूलगायत ३० परिवारले थोरै मकै र बाँकी भटमास लगाएको मायादेवीको भनाइ छ । भटमासलाई बँदेलले खासै नरुचाउने भएकाले हामी भटमास खेतीतर्फ आकर्षित भएको सोही गाउँका अर्का कृषक पदमराज पन्त बताउँछन् । धानभन्दा पनि महँगो मूल्यमा बिक्री हुने हँुदा भटमास खेती गर्न अन्य बालीभन्दा सहज भएकाले यसतर्फ कृषक आर्कषित भएका हुन् । विगतमा हामीले धान, मकै, कोदो लगाउने गरे पनि जंगली बँदेलले सखाप गर्न थालेपछि केही सीप नचलेर भटमास खेतीतर्फ लागेको नवदुर्गा गाउँपालिकाका कृषक रुद्रप्रसाद भट्टले बताए ।
हाम्रो गाउँमा प्रायः पाखो जमिन भएकाले धानभन्दा पनि मकै फल्थ्यो तर बँदेलले नष्ट गर्न थालेदेखि अधिकांशले भटमासखेती गर्न थालेका हुन् । करिब हामी ६० घरपरिवार नै बसोबास गर्दछौँ सबैले मुख्य बालीको रुपमा भटमासको खेती गर्न लागेको तीन वर्ष जति हुन लागेको कृषक भट्टले उल्लेख गरे ।
विगतमा कहिल्यै पनि बाहिरबाट चामल किन्न नपरेकामा बँदेलको त्रासले त्यस्ता बाली लगाउन सबैले छाडिसके अब बजारको चामलको भर पर्नुपरेको अर्का बृद्ध कृषक कमलसिंह महरले बताए । हाल जिल्लाका विभिन्न भागमा कृषकले वर्षायाममा धान, मकैलगायतका बाली लगाउन छोडेर दलहन खेती गर्न थालेका हुन् ।
जिल्लाका अमागढी नगरपालिका अजमेरु गाउँपालिका, नवदुर्गा, भागेश्वर, गन्याप र पर्शुराम तथा आलिताल गाउँपालिकाका विभिन्न ग्रामीण क्षेत्रमा भटमासका साथै अन्य दलहन खेती र तरकारी खेतीको विस्तार भएको छ । – – धनबहादुर भण्डारी

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४