आइतवार, जेष्ठ ६, २०८१

कोरियामा कृषि मन्त्रीले भने कृषिमा आधुनिकीकरण जरुरी

कोरिया, कार्तिक । नेपालको कृषि क्षेत्रको विकासका लागि नेपाल र कोरिया सरकारवीचको सम्वन्ध   विस्तार भएको कृषि विकास मन्त्री गौरी शंकर चौधरीले बताएका छन् । अक्टोवर १८ देखि २१ सम्म कोरियाको सियोलमा शुरु भएको ग्लोवल लिडरसिप फोरममा बोल्दै कृषि विकास मन्त्री चौधरीले सो कुरा बताएका हुन् । gaurisankar-chaudhari
२५ राष्ट्रका कृषि मन्त्री तथा प्रतिनिधिहरुको सहभागिता रहेको सो फोरममा मन्त्री चौधरीले कृषि विकास रणनीतिले लक्षित गरेका योजनाहरु कार्यान्वय गर्न कृषि विकास मन्त्रालय लागि परेको समेत बताएका छन् । कृषि मन्त्री चौधरीले नेपाल कृषि प्रधान देश भएकोले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायिकरणका लागि यान्त्रिकीकरणमा सरकारले जोड दिएको समेत बताए । साथै उनले साना र सिमान्तकृत किसानहरुलाई परम्परागत कृषि पेशाबाट व्यवसायिक किसान बनाउन लागि परेको उल्लेख गरे । उनले विश्वका किसानलाई कृषि सम्मान जनक पेशाका रुपमा स्थापित गरी पेशाको सुरक्षाका लागि सम्पूर्ण राष्ट्र एक भएर लाग्नु पर्ने समेत बताए ।
तीन दिने कार्यक्रममा कोरिया आईपुगेका मन्त्री चौधरीले कृषि अनलाईनका प्रतिनिधिसंग कुराकानी गर्दै कोरियामा आधुनिकीकरणले कृषि क्षेत्रमा भएको परिवर्तन र विकासलाई नेपालमा उदाहरणका रुपमा प्रस्तुत गर्नका लागि पनि दुईदेश वीचको सम्वन्धका बारेमा छलफल भएको बताए ।
मन्त्रीसंगै कोरिया आएका कृषि विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव योगेन्द्र कुमार कार्कीले अफगानिस्थान, लाओस् लगायतका देशका प्रतिनिधिहरुसंग नेपालको कृषि क्षेत्रको विकासका लागि नेपाल सरकारले कृषि विकास रणनीति ल्याइसकेको विषयमा छलफल भएको जानकारी दिए । उनले सहभागिता देशका प्रतिनिधिहरुसंग आ आफ्नो देशमा भएका कृषि विकासका सन्दर्भ र देखिएका चुनौतीका सन्दर्भका समेत छलफल भएको बताए ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २, २०७३