आइतवार, जेष्ठ ६, २०८१

भूकम्प पीडितले नपाउने भए कोरली गाई

cow

काठमाडौं, असार । नेपाली किसानहरुलाई झुठको आश्वासन बांड्न माहिर मानिएका सरकारी अधिकारीहरुले अन्तत ः भूकम्प पीडित किसानहरुलाई पनि नेताहरुले जस्तै आश्वासन मात्र देखाए । भूकम्पबाट पीडित किसानहरुलाई गाई वितरण गर्ने भनियो त्यो रोकियो । फेरि कोरली गाई वितरण गर्ने भनियो, प्रचार प्रसार निकै नै गरियो तर अन्त्यमा आएर भूकम्प पीडित किसानहरुले कोरली गाई नपाउने भएका छन् । भूकम्प पीडित किसानहरुलाई राहत स्वरुप अनुदानमा कोरली गाई वितरणका लागि चालु आर्थिक बर्षमा पशु सेवा विभाग मातहतमा रहेको पशु उत्पादन निर्देशनालयमा करीव १३ करोड रुपैयाँ छुट्याइएको भएपनि सो कार्यक्रम पूर्ण रुपमा असफल भएको छ ।
पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलका अनुसार भूकम्प पीडित २४ जिल्लाका किसानहरुलाई कोरली गाई वितरण गर्ने कार्यक्रम भएको भएपनि मन्त्रालय सो कार्य गर्न असफल भएकोमा दुख व्यक्त गर्दै किसानहरुलाई कोरली गाई वितरण कार्य गर्न नसकिएको स्वीकार गरेका छन् ।
सार्वजनिक खरिद ऐन नियमका कारण गाई वितरण गर्न कठिनाई भएको उनले बताए । गाई वितरण गर्नका लागि टेण्डर प्रक्रियामा गएको भएपनि प्रस्ताव पेश गरेको संस्थाले तोकिएको समयभित्रै गाई उपलब्ध गराउने प्रतिवद्धता गर्दा पनि प्रस्तावकर्ता सार्वजनिक खरिद ऐन नियम भित्र पर्न नसकेको मूल्यांक समितिले निर्णय गरेपछि कोरली गाई वितरण कार्य रोकिएको उनले बताए ।

प्रकाशित मिति: आइतवार, असार १९, २०७३