आइतवार, जेष्ठ ६, २०८१

कृषि सचिव र विश्व बैंकका अधिकारीबीच भेटवार्ता

काठमाडौं, जेठ । कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई र दक्षिण एसियाका लागि विश्वबैंकको कृषि क्षेत्रका प्राक्टिस मेनेजर मार्टिन भानन्युकुप बीच मंगलबार भेटवार्ता भएको छ । सिंहदरवारस्थित सचिव भट्टराईको कार्यकक्षमा भएको भेटवार्तामा विश्व बैंकको आर्थिक सहयोगमा मन्त्रालयले कार्यान्वयनमा ल्याएको व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को वर्तमान अवस्थाबारे छलफल भएको थियो । सचिव भट्टराईले भूकम्प र नाकावन्दीको मारबाट भर्खरै मुक्त रहेको अवस्थामा प्याक्ट लगायत अन्य आयोजनाहरुले गति लिन थालेको बताए । उनले आयोजनाहरुका लागि विश्व बैंकले सहयोग जारी राख्नेमा विश्वास व्यक्त गरे । सचिव भट्टराईले नेपाल सरकारले सुरु गरेको कृषि विकास रणनीति कार्यान्वयनमा सहयोग गर्न पनि आग्रह गरे । sachiv bhet
भेटवार्तामा प्राक्टिस मेनेजरले कास्की र तनहुँं जिल्लामा आफूले गरेको भ्रमणबारे पनि कुरा उठाएका थिए । भ्रमणका क्रममा आफूले कृषि वस्तुहरुको विविधकरण गरे किसानले प्याक्ट लगायतका आयोजनाबाट बढी लाभ लिन सक्षम हुने महसुश गरेको बताए ।
प्राक्टिस मेनेजर न्युकुपले कास्कीको रुपाकोट ६ स्थित व्यवसायिक कृषि तथा व्यापार आयोजनाको पूरक अनुदानमा सञ्चालित माछा पालन उपआयोजनाको स्थलगत अवलोकन गरी स्थानीय बासिन्दासँंग अन्तरक्रिया गरेका थिए ।
भेटवार्तामा सचिव र प्राक्टिस मेनेजरबीच कृषि तथा खाद्य सुरक्षा आयोजना र सिंचाइ आयोजनाहरुका अवस्था बारे पनि छलफल गरेका थिए ।
भेट वार्तामा मन्त्रालयका सहसचिवहरु योगेन्द्रकुमार कार्की, डा. सुरोज पोखरेल, प्याक्टका आयोजना निर्देशक डा. इन्द्रकान्त झा सहित विज्ञहरु सहभागी भएका थिए । यसैगरी आई डब्लू आर एम पी आयोजना निर्देशक राजेन्द्र मिश्र मन्त्रालयका उपसचिव महेन्द्र पौड्याल लगायतको पनि सहभागिता थियो । यसैगरी मार्टिनको समुहमा विश्व बैंकको नेपाल स्थित कार्यालयका वरिष्ठ ग्रामिण विकास विज्ञ डा. पूर्ण क्षेत्री तथा अनुमगन अधिकृत करिष्मा वस्ती पनि सहभागी भएका थिए ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १३, २०७३